हसुलिया, २८ साउन । बहुउद्देश्यीय विकास समाज डडेल्धुराको आयोजनामा बाढी तथा पहिरो प्रभावित जनताका लागि आपतकालिन अवस्थामा सहयोग गर्न पूर्व तयारी तथा प्रतिकार्य परियोजनाको परियोजना शुभारम्भ अभिमुखीकरण गोष्ठी कैलारी गाउँपालिकामा सम्पन्न भएको छ ।
कैलारी गाउँपालिकासंगको समन्वय र कियाको सहयोगमा बहुउद्देश्यीय विकास समाज, डडेल्धुराले कैलारी गाउँपालिकामा बाढी तथा पहिरो प्रभावित जनताका लागि आपतकालिन अवस्थामा सहयोग गर्न पूर्व तयारी तथा प्रतिकार्य परियोजना तेश्रो चरणको कार्यक्रम संचालन गर्न लागेको उक्त गोष्ठीमा जानकारी गराईयो ।
स्थानीय स्तरका सरोकारवाला निकायहरुलाई परियोजना वारे जानकारी गराई समन्वय तथा सहकार्यको माध्यमबाट परियोजनाका गतिविधीहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न सहयोग पुगोस भन्ने उद्देश्यले परियोजना शुभारम्भ अभिमुखीकरण गोष्ठीको आयोजना गरिएको हो ।
गोष्ठीमा परियोजना मार्फत संचालन गरिने गतिविधीहरुको बारेमा परियोजना संयोजक शिबराज पाठक ले प्रस्तुतीकरण गरेका थिए । उनले परियोजना मार्फत भजनी नगरपालिकामा समुदाय स्तरमा पूर्व तयारीका लागि जनचेतना मुलक कार्यक्रम संचालन, बाढी प्रभावितहरुलाई राहत सामाग्री सहयोग, जोखिम नक्साकंन तथा सर्वेक्षण, बिपद सामाग्री सहयोग, पूर्व सूचना प्रणाली सम्बन्धि अभिमुखीकरण, टास्क फोर्स र समुदायका अगुवाका लागि आत्मरक्षा सम्बन्धि तालिम, वृक्षारोपण तथा वायोईन्जिनियरिङ कार्यहरु संचालन गरिने बताए ।
कार्यक्रममका प्रमुख अतिथी एंव कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बहुउद्देश्यीय विकास समाज, डडेल्धुराले पहिलो र दोश्रो चरणको कार्यक्रम संचालनको क्रममा बाढी तथा विपद क्षेत्रमा अत्यन्तै राम्रो कार्य गरेको बताउदै प्रशंसा गरेका थिए । उनले तेश्रो चरणमा संचालन हुन लागेको यस परियोजनाले पनि विपद जोखिम न्यूनिकरणको क्षेत्रमा महत्वपूर्ण कार्य हुने विश्वास व्यक्त गरेका थिए । पालिका अध्यक्ष चौधरीले परियोजनालाई लक्षित समुदायमा सफल रुपमा कार्यान्वयनका लागि स्थानीय सरकारको तर्फबाट पूर्ण सहयोग एंव सहकार्य रहने बताए ।
कार्यक्रममा कैलारी गाउँपालिका वडा नं ३ का अध्यक्ष सन्तराम चौधरी, वडा नं ५ का अध्यक्ष विष्णु चौधरी,वडा नं ६ का अध्यक्ष प्रेम चौधरी,वडा नं ७ का अध्यक्ष दिपेन्द्र बम,सामाजिक शाखा प्रमुख यगम कलेल, कैलारी गाउँपालिका विपद फोकल पर्सन भुवन बखरीया, लगायतकाले मन्तब्य राखेको थिए ।
कार्यक्रम कैलारी गाउँपालिका वडा नं ४ का अध्यक्ष एंव विपद व्यवस्थापन समितीका संयोजक ठागुराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।