१० आश्विन २०८२, शुक्रबार September 26, 2025

बाढी प्रभावित समुदायलाई बिपद जोखिम न्यूनीकरण सम्बन्धि अभिमुखीकरण

१६ श्रावण २०८२, शुक्रबार
बाढी प्रभावित समुदायलाई बिपद जोखिम न्यूनीकरण सम्बन्धि अभिमुखीकरण

भजनी, १६ साउन । बहुउद्देश्यीय विकास समाज डडेल्धुराको आयोजनामा विपद् जोखिम न्यूनीकरण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम भजनी नगरपालिका वडा नं ४ खैलाडमा सम्पन्न भएको छ ।
बाढी प्रभावित थारु र दलित समुदायको बसोबास रहेको खैलाडमा हरेक बर्ष बाढी डुबानको जोखिम रहदै आएकाले संस्थाले बिपद टास्कफोर्स गठन गरी विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रम सञ्चालन गर्दे आईरहेको छ ।
भजनी नगरपालिकाको समन्वय, केआइएको सहयोगमा बहुउद्देश्यीय विकास समाज डडेल्धुराद्वारा संचालित प्रकोप जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेशमा बाढी पहिरो प्रभावितलाई सहयोग कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।
बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत विपद् जोखिम न्यूनीकरणमा समुदायको ज्ञान सीप र क्षमता अभिवृद्धि गरि उनीहरुलाई नै परिचालन गर्ने उद्देश्यले अभिमुखीकरण गरिएको थियोे ।
उक्त क्षेत्रमा बर्षाको समयमा वरपरका स्थानीयहरुले बर्षनी बाढी, डुबान तथा कटानीबाट थुप्रै क्षती बेहोर्नुु पर्ने बाध्यता रहेको छ ।
कार्यक्रममा भजनी नगरपालिका वडा नं ४ का भलमन्सा तथा पूर्वसूचना कार्यदल संयोजक सिताराम महतोले समुदायसंगको समन्वय तथा सहकार्यमा एमपीडीएस संस्थाले बिपद जोखिम न्यूनीकरणका लागि टास्क फोर्सलाई प्रदान गरिएको अभिमुखिकरणले उनीहरुको क्षमता अभिबृद्घि, सकृयता र परिचालनमा सहयोग पुग्ने बताए ।
उनले बाढी तथा डुबानमा गाउँ पुरै डुब्ने भएकोले विपद् पूर्वतयारी योजना बलियो हुनुपर्ने बताए ।
कार्यक्रममा भजनी नगरपालिका वडा नं ४ का वडा सदस्य दुखरानी चौधरीले टास्कफोर्सको क्षमता विकास अभिवृद्धि र परिचालनका लागि विपद् सम्वन्धी कार्यक्रमका लागि आफू वडा कार्यालयको तर्फबाट पहल गर्ने बताइन् ।
कार्यक्रममा सामाजिक अगुवा दिल बहादुर बुढाले बाढी तथा डुबानबाट बच्न र सचेतना अभिवृद्धी गर्ने कार्यमा यस्ता अभिमुखीकरणले विशेष सहयोग पुग्ने बताउदै विपदमा पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सके जोखिम व्यवस्थापनमा थप टेवा पुग्ने बताए ।
कार्यक्रममा सहभागीहरुले बर्सेनि बाढी तथा डुबानबाट खैलाड बस्ती जोखिममा पर्ने भएकोले दिगो बिपद जोखिम व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
कार्यक्रममा बिपद जोखिम न्यूनीकरण, पूर्व तयारी, प्रतिकार्य योजना, टास्कफोर्सको परिचालन क्षमता अभिवृद्धि, पूर्व सूचना प्रणाली, बिपद बजेट योजना, जैबिक तटबन्ध लगायतका बिषयमा बहुउद्देश्यीय विकास समाजका डिआरआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैकाले सहजीकरण गरेका थिए ।
खैलाड विपद् व्यवस्थापन समिति टास्कफोर्सका अध्यक्ष बलिराम चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।