१० आश्विन २०८२, शुक्रबार September 26, 2025

गुरही पर्वको अवसरमा सार्वजनिक बिदा

१२ श्रावण २०८२, सोमबार
गुरही पर्वको अवसरमा सार्वजनिक बिदा

धनगढी, १२ श्रावण । कैलाली जिल्लाको विभिन्न स्थानीय तहले गुरही/गुरिया पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएका छन् ।
थारु समुदायले पहिलो पर्वको रुपमा मनाउने गुरही पर्व यही श्रावन १३ गते मंगलबार परेको छ । सोही अवसरमा धनगढी उपमहानगरपालिका, कैलारी र जानकी गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएका हुन् ।


धनगढी उपमहानगरपालिकाले नगर प्रमुख गोपाल हमालद्वारा हस्ताक्षरित एक सूचना जारी गर्दै थारु समुदायले श्रावण शुक्ल पञ्चमीका दिन मनाउने गुरही पर्वको अवसरमा श्रावण १३ गते बिदा दिएको हो । उक्त दिन उपमहानगरपालिका अन्र्तगतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्थाहरु एवं धार्मिक संघ संस्थाहरुमा बिदा रहने जनाएको छ ।


कैलारी गाउँपालिकाले पनि एक सूचना जारी गरी स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संघ संस्थामा पनि स्थानीय बिदा रहने जनाएको छ । कैलालीको जानकी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको छ ।


गुरही पर्व पश्चिमवासी थारू समुदाय लगायत नेपालको मधेश प्रदेश र भारतमा पनि धुमधामका साथ मनाइने गरिन्छ ।
गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् । यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ ।
बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने/पिट्ने चलन रहेको छ । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ ।
गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ । यसै गरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ ।