११ आश्विन २०८२, शनिबार September 27, 2025

श्रावण १३ गते थारू समुदायको गुरही पर्व, धनगढीमा भव्यताका साथ मनाइने

११ श्रावण २०८२, आईतवार
श्रावण १३ गते थारू समुदायको गुरही पर्व, धनगढीमा भव्यताका साथ मनाइने

धनगढी, ११ श्रावण । पश्चिमवासी थारू समुदायमा मनाउने गुरही/गुरिया पर्व यो वर्ष श्रावण १३ गते मंगलबारको दिन परेको छ ।
हरेक थारू गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरही पर्व हरेक वर्ष नागपञ्चमीको दिन मनाइँदै आएको छ । विभिन्न ठाउँमा नाचगानसहित गुरही पर्व मनाउने गरिएको छ ।
यता नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उद्देश्य सहित धनगढीमा २०६७ सालदेखि गुरही पर्वलाई संस्थागत रूपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा आज आइतबार गुरही मनाउने बारे धनगढीमा छलफल पनि गरिएको छ ।
गुरही पर्वलाई भव्यताका साथ मनाउने तयारीबारे छलफल भएको सखी सञ्जाल कैलालीका अध्यक्ष उन्नति चौधरीले बताइन् । उनका अनुसार गुरही असरैना तयारीबारे छलफल सहित सांस्कृतिक झाँकी व्यवस्थापन, मिडिया परिचालन लगायत विषयमा छलफल भएको जानकारी दिँदै तयारी लगभग पुरा भएको बताइन् । सोही दिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबाट गुरही चौकमा निर्माण भएको गुरहीको मूर्ति अनावरण गर्ने कार्यक्रम पनि रहेको उनले बताइन् ।
गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् । यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ ।
बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने/पिट्ने चलन रहेको छ । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ ।
गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ । यसै गरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ ।
गुरही पर्वको अवसरमा कैलालीको तराई क्षेत्रका सबै स्थानीय तहले स्थानीय बिदा पनि दिने गरेका छन् ।