धनगढी, ९ साउन । पश्चिम नेपालका थारू समुदायको प्रमुख सांस्कृतिक तथा सामाजिक पर्वको रुपमा रहेको अँट्वारी पर्व यस बर्ष भदौ ८ गते परेको छ ।
हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतबार तथा कुशेऔंसी पछिको पहिलो आइतबारका दिन अँट्वारी पर्व मनाइन्छ । थारु नागरिक सामाज कैलाली संयोजक तथा थारु अगुवा दीलबहादुर चौधरीले अँट्वारी पर्व यहि भदौ ८ गते परेको बताए । उनले कुशे औंसी पछिको पहिलो आइतबार र भाद्र शुक्ल पक्षको पहिलो आइतबार भदौ ८ गते परेकोले उक्त दिन थारु समुदायको अँट्वारी पर्व परेको बताए ।
अँट्वारी मुलतः थारु समुदायका पुरुषले मनाउने पर्व हो । तर, थारु समुदायका महिला पनि अँट्वारी व्रत बस्ने गर्दछन् । पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बर्दिया र दाङ जिल्लाका थारु समुदायले अँट्वारी पर्व मनाउने गरेका छन् । थारु समुदायको यो माघीपछिको दोस्रो प्रमुख सांस्कृतिक, सामाजिक पर्व हो । अँटवारीको अघिल्लो दिन अर्थात् शनिबार मध्य रातीमा दर खाएर यो पर्व सुरु हुन्छ । आइतबार ब्रत बस्ने गरिन्छ ।
साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा रोटी, पूरी पकाएर अँट्वारी पुजा गर्ने गर्दछन् । अँट्वारी पुजामा अण्डीक रोटी, काँक्रो, दही, केरा, बेलौटीलगायतका अग्रासन झिकेर पूजा गरिन्छ । त्यसको भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ ।
फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन रहेको छ। अँट्वारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाई र दिदीबहिनीबीच मायाप्रेम साट्ने पर्वका रूपमा स्थापित छ । त्यस्तै, अँट्वारीलाई एकता, विजय तथा भातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रुपमा मनाइने गरेको छ ।
यसैबीच, सुदूरपश्चि प्रदेश सरकारले अँट्वारी पर्वमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रत्येक वर्ष अँट्वारी पर्वमा सार्वजनिक विदा दिँदै आएको प्रदेश सरकारले यस वर्ष भने यही साउन २५ गते अँट्वारी पर्वको विदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषदको २०८१ चैत्र २१ गतेको निर्णय अनुसार साउन २५ गते अँट्वारी पर्व र पुस ३० गते जिता मर्ना पर्व भन्दै माघको विदा दिने निर्णय गरेको हो ।
तर, थारु अगुवाहरुले भदौ ८ गते अँट्वारी पर्व परेकोले उक्त निर्णय सच्याउन माग गरेका छन् । थारु नागरिक समाज कैलालीका संयोजक दील बहादुर चौधरीले प्रदेश सरकारले उक्त निर्णय सच्याएर भदौ ८ गतेको दिन सार्वजनिक विदा दिनु पर्ने माग गरे ।
पहुरा थारु दैनिकका अतिथी सम्पादक एवं संस्कृतिविद् डा. कृष्णराज सर्वहारीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सुदूरपश्चिम प्रदेश सरकारलाई थारु समुदायको चाडपर्वमा बिदा सम्बोधन गर्नु पर्नेऔंल्याएका छन् । प्रदेश सरकारले यसपाली कृष्णजन्मअष्टमी भन्दा अगाडी नै अँट्वारी पर्वको बिदा दिएको र माघ पर्वलाई सम्बोधन नै नगरेकोले उनले प्रदेश सरकारलाई थारु विज्ञ सल्लाहकार राख्न पनि सुझाएका छन् ।
उता बेलौरी नगर भलमन्सा समिति बेलौरी कञ्चनपुरले पनि एक प्रेस विज्ञप्ती जारी गर्दै अँट्वारी पर्वको विदा सच्याउन माग गरेको छ । समितिका अध्यक्ष अमर सिंह चौधरी र सचिव विक्रम चौधरीको हस्ताक्षर सहित जारी भएको विज्ञप्तीमा अँट्वारी पर्व भदौ ८ गते परेकोले सोही दिन बिदा कायम गरिदिन माग गरेका हुन् ।