११ आश्विन २०८२, शनिबार September 27, 2025

कैलालीमा हातहतियार सहित ३ जना पक्राउ

३१ असार २०८२, मंगलवार
कैलालीमा हातहतियार सहित ३ जना पक्राउ

धनगढी । कैलालीमा हातहतियार र जरायोको सिंहसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका–९ आमबारी बस्ने ५० वर्षीय दिलिप कार्की, उनका छोरा २२ वर्षीय बिकास कार्की र भजनी नगरपालिका–५ बस्ने ३० वर्षीय सुरेश बिक रहेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले दिलिप कार्कीको घरमा खानतलासि गर्दा हातहतियारसहित तीनै जनालाई सोमबार पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट एनएफ बबी लेखिएको पेस्तोल १ थान, सोही पेस्तोलको गोलि ११ राउण्ड, म्यागजिन १ थान, नबिकरण नभएको २२ बोर (हर्नेट) १ थान, सोही हर्नेटको गोली २४ राउण्ड, कटुवा पेस्तोल १ थान, भरुवा बन्दुकको काठ १ थान, छर्रा १ डिब्बा, भरुवा बन्दुकको घोडा १ थान, मयुरको प्वाख २ गुच्चा र जरायोको सिंह ३ थान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यसैबिच प्रहरीले नौ ग्राम ३५० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित एक युवकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ भन्सार क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गौरीगङ्गा नगरपालिका–८ का ३१ वर्षीय उमेश चौधरी छन् ।
भन्सार एरियामा चेकजाँच गर्ने क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
लागुऔषधको ओसारपसार तथा कारोबार बढेपछि जिल्ला प्रहरी कार्यालयले लागु औषध नियन्त्रण कार्यविधि लागू गरेर नियन्त्रणको काम गरिरहेको छ ।