धनगढी, २२ असार । धनगढी उपमहानगरपालिकालाई पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
आइतबार एक कार्यक्रम गरी उपमहानगरलाई पूर्ण खोप पालिका तथा दिगोपना घोषणा गरिएको हो । २०८१ फागुनदेखि २०८२ बैशाखसम्म गरिएको घरधुरी सर्वेक्षणको नतिजाको आधारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए ।
घर धुरी सर्वेक्षण गर्दा धनगढी उपमहानगरपालिका भित्र १६ देखि ५९ महिनासम्मका बालबालिका संख्या ८ हजार २१० रहेका छन् । यी मध्ये कुनै पनि खोप नलगाएका बालबालिका ५ र ड्रप आउट भएका ५९ जनालाई १५ महिनासम्मको उमेरभित्र पाउनुपर्ने सम्पूर्ण खोप लगाएर पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको शाखा प्रमुख अवस्थीले बताए ।
सम्पूर्ण बालबालिकाले खोप पाएको सुनिश्चितता गरिएपछि प्रत्येक वडालाइ पूर्ण खोप सुनिश्चतता र दिगोपना प्रमाण पत्र प्रदान गरिएको थियो ।
यसैबिच उपमहानगरपालिकाले दुई जना सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई जनही एक लाखसहित सम्मानित गर्दै बिदाइ गरेको छ ।
सम्मानित हुने स्वास्थ्य स्वयं सेविकाहरुमा वडा नम्बर २ की महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका जया शर्मा र वडा नम्बर ५ की तारादेवी शर्मा रहेका छन् ।