२३ चैत्र २०८२, सोमबार April 6, 2026

दहित गोत्र पहिचान र कुल पुजामा एकरुपताका लागि दहित गोट्यार सम्मेलन

२२ चैत्र २०८२, आईतवार
दहित गोत्र पहिचान र कुल पुजामा एकरुपताका लागि दहित गोट्यार सम्मेलन

धनगढी, २२ चैत । दहित समाज कैलालीको आयोजनामा भजनी नगरपालिका वडा नम्बर ४ कुँरी गाउँमा दोस्रो दहित गोट्यार कैलाली जिल्ला सम्मेलन २०८२ भव्यरुपले सम्पन्न भएको छ ।
कैलाली जिल्ला लगायत कञ्चनपुर र बर्दिया लगायत ठाउँबाट आएका दहित गोट्यार सम्मेलनमा प्रमुख अतिथि पूर्व भूमि सुधारमन्त्री डा. गोपाल दहित रहेका थिए । सम्मेलनलाई सम्बोधन गर्दै उनले विभिन्न समुदाय, जाति, वर्ग र क्षेत्रले आफ्नो पहिचान जोगाउन तथा समाजलाई संगठित बनाउन निरन्तर प्रयास गरिरहेको बताए । उनले लामो संघर्ष र आन्दोलनपछि नेपालको संविधान २०७२ मा आदिवासी थारु समुदायको हक अधिकार सुनिश्चित भएको र त्यसपछि थारु समुदायले आफ्नो पहिचान मजबुत बनाउँदै आएको उल्लेख गरे ।


डा. दहित अनुसार दहित समाजको पहिलो भेला २०५० साल तिर बर्दियामा भएको र त्यसयता विभिन्न जिल्ला स्तरमा भेलाहरू निरन्तर आयोजना हुँदै आएको बताए । सम्मेलनको मुख्य उद्देश्यबारे जानकारी दिँदै उनले दहित समुदायको खोजी, उनीहरूको वर्तमान अवस्था के कस्तो रहेको छ, समुदायभित्र रहेका थर तथा उपथरहरूको पहिचान, गोत्र र गोटियार पहिचान गर्ने लगायतका विषयमा अनुसन्धान गर्ने उद्देश्य रहेको उनले बताए ।


त्यसैगरी दहित संस्कृतिमा बाह्य संस्कृतिको प्रभाव बढ्दै गएकाले त्यसको संरक्षण गर्नु आवश्यक रहेकोमा जोड दिएका थिए । दहित को हुन्, कहाँबाट आए, दहित नाम कसरी रह्यो ? भन्ने ऐतिहासिक तथा सांस्कृतिक विषयमा अध्ययनका लागि पनि सम्मेलन गरेको उल्लेख गरे ।


डा. दहितले दहितको कुल देवताको पुजाआजा, श्राद्ध, मर्नीकर्नीमा एकरुपता ल्याउन, आफ्नो पहिचान संरक्षण गर्न दहित समाजको विधान लिखित रुपमा तयार रहेको र चाँडै दर्ता प्रकृया अगाडी बढाउने समेत जानकारी दिए ।
कार्यक्रममा पछाडि परेका दहित समुदायका बालबालिकालाई अगाडि बढाउने, डाटा संकलन गर्ने तथा समाजमा दहित गुरुवा र केसौकाको आवश्यकता पहिचान गर्ने विषयमा समेत ध्यानाकार्षण गराएका थिए । साथै उनले कुल देवता जस्तै सौरा, मैया, खेखरी, लागुबासु, भेँरुवाबा, सुच्छाचारी, दुद्धाजारी आदिको पूजा किन गरिन्छ भन्ने विषयमा जानकारी गराएका थिए ।
सम्मेलनका क्रममा सहभागीहरूले दहित समुदायका विभिन्न थर, फरक–फरक देवता र पूजा विधिबारे जिज्ञासा राखेका थिए । कार्यक्रममा सांस्कृतिक नाचगान पनि प्रस्तुत गरिएको थियो ।


उक्त सम्मेलनमा हजारौँको उपस्थिति रहेको थियो । सहभागीहरूले आफ्ना गोत्र मिल्ने गोटियारसँग परिचित हुने अवसर पाएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गरेका थिए । दहित समाज कैलाीलीका अध्यक्ष दल बहादुर दहितको सभापतित्वमा भएको सम्मेलनमा दहित समाजको केन्द्रिय उपाध्यक्ष भारती दहितको विशिष्ट आतिथ्यता रहेको थियो ।


कार्यक्रममा दहित समाजका केन्द्रिय सदस्य जगतराम दहित, हिरा दहित, दहित समाज कञ्चनपुरका अध्यक्ष विपिन दहित, भजनी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जन्ताराम दहित, गोदावरी नगरपालिका वडा नम्बर ५ का वडा सदस्य बसन्ती दहित लगायतले मनतब्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन सुधराम दहित र चन्द्रा दहितले गरेका थिए ।