हसुलिया, १८ चैत । मुक्त कमैया समाज कैलारीले मुक्त कमैया तथा कम्लहरी पुर्नस्थापनाका लागि कार्यविधि निर्माण सहित कार्यान्वयनका लागि गाउँपालिका अध्यक्ष राजसमझ चौधरीलाई ज्ञापन पत्र बुझाएको छ ।
थाल ठटाउँदै दबाव र्याली सहित गएको मुक्त कमैया तथा कम्लहरीको टोलीले गाउँपालिका अध्यक्ष चौधरीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापन पत्रमा सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पारित गरेको मुक्त कमैया, कम्लहरी तथा हलिया पुर्नस्थापना कार्यविधिको आधारमा कैलारी गाउँपालिकाले पनि मुक्त कमैया तथा कम्लहरी पुर्नस्थापनाका लागि कार्यविधि निर्माण गरी कार्यान्वयन र २०८३/०८४को नीति तथा कार्यक्रममा मुक्त कमैया पुर्नस्थापना तथा सामाजिक विकासका लागि बजेट विनियोजनका लागि माग गरिएको छ ।

त्यसैगरी मुक्त कमैया र मुक्त कमैया युवाहरुलाई सीपविकास तालिम (कम्युटर, हेयरकटिङ्ग, उद्यमशिलता तालिम र स्थानीय सरकारले श्रम ऐन, निर्देशिका तथा कार्यविधि बनाएर अनुगनम संयन्त्र स्थापना गरी अनौपचारिक क्षेत्रको श्रम नियमित अनुगमन गरि समस्याको सम्बोधन गर्न माग गरेको छ ।
त्यसैगरी मुक्त कमैयाहरुको जमिनको समस्या समाधानका लागि अधिकार सम्पन्न कार्यदल बनाएर बसेको ठाउँको लालपुर्जा वितरण, मुक्त कमैयाको बालबालिकाका लागि प्राविधिक शिक्षा तथा उच्च तहसम्म निःशुल्क शिक्षा तथा स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरिएको छ ।

साथै समाजले कैलारी गाउँपालिका अन्र्तगत मुक्त कमैयाहरुको बस्ती गत माग पनि बुझाएको छ ।
उक्त मागहरुमा मिलनपुर मुक्त कमैया बस्तीमा जिविकोपार्जनका लागि व्यवसायिक तरकारी खेतीमा सहयोग, आर्थिक सुधारका लागि मुक्त कमैयाहरुलाई नास्ता पसलको सामाग्री सहितको सहयोग र मिलनपुर बस्ती, विपतपुर, सपनानगर र हिरापुर मुक्त कमैया बस्तीमा थ्रिफेज कृषि विद्युत लाईन विस्तार माग गरिएको छ । साथै विपतपुर मुक्त कमैया बस्तीमा जग्गा कटान नियन्त्रणका लागि तट्बन्ध निर्माण, खानेपानीका लागि खानेपानी तथा हेण्ठपम्प र सिँचाईका लागि ओभरहेड टंकी, डिप बोरिङ्ग समेतका माग समेटिएको छ ।
मुक्त कमैया बस्तीमा व्यावसायिक वंगुर पालन, ओमनगर मुक्त कमैया बस्तीमा थारु सांस्कृतिक पहिरन पोसाक निर्माणका लागि तालिम, फाइबर पोली व्याग उद्योग सञ्चालन र सुन्दरपुर मुक्त कमैया बस्तीमा कचहरी भवन निर्माण र व्यावसायिक बाख्रा पालनमा सहयोग र सपनानगर मुक्त कमैयामा नयाँ मनिकापुर देखि बन्दरगौह्रीसम्म सडक स्तरोन्नति सहित ग्राभेल माग गरिएको छ ।
मुक्त कमैया समाजका केन्द्रिय अध्यक्ष पशुपति चौधरीले हामीले राखेका मागहरु गाउँपालिकाले समयमा सम्बोधन नगरे सशसक्त आन्दोलन गर्ने बताएका छन् ।