धनगढी, १८ चैत । बरघर तथा भलमन्साहरुको काम, कर्तब्य र अधिकार सम्बन्धि कार्यविधि तथा कानुन निर्माण गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाले विभिन्न पालिकाहरूको असल अभ्यासको अध्ययन अवलोकन सहित अनुभव आदान–प्रदान तथा आवश्यक छलफल गरेको छ ।

थारु समुदायको भलमन्सा प्रणालीबारे कार्यविधि तथा कानुन निर्माणका लागि धनगढी उपमहानरपालिकाले कैलारी गाउँपालिका र भजनीनगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुसँग गाउँपालिका तथा नगरपालिकाका असल अभ्यास सम्बन्धी अध्ययन तथा अवलोकन सहित छलफल गरेको हो ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल सहितको टोलीले कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवती कुमारी चौधरी लगायत कर्मचारीहरु सँग गाउँपालिकाले गरेका असल अभ्यासबारे अध्ययन अवलोकन सहित अनुभव आदान प्रदान गरेको हो । त्यसैगरी उक्त टोलीले भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरी र उपप्रमुख राजु तिरुवा र कर्मचारीहरुसँग छलफल गरेको हो ।

नगरप्रमुख हमालले धनगढी उपमहानगरपालिकाद्वारा २०७९/८० सालको नीति तथा कार्यक्रमबाट नै निरन्तर भलमन्सा प्रणालीलाई कार्यक्रम तथा नीतिमा ल्याई आवश्यक कानुनी लगायतका तालिम र कार्यालय सञ्चालनमा सहयोग गर्दै आई रहेको बताएका छन् ।

उक्त टोलीमा नगर उपप्रमुख कन्दकलाकुमारी राना, वडा नम्बर १० का वडाध्यक्ष शिवकुमार राना, १९ नम्बरका वडाध्यक्ष बाँधुराम चौधरी, कार्यपालिका सदस्य सुष्मा चौधरी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खाती, कानुनी सल्लाहकार बीर बहादुर जेठारा, थाकस कैलाली सभापति वीर बहादुर थारू, नेपाल राना थारु समाजका अध्यक्ष कमल सिंह राना, नगर भलमन्सा समितिका अध्यक्ष रोहित चौधरी, लेखा अधिकृत मेम्बर सिंह, सामाजिक विकास अधिकृत टंक बहादुर विष्ट र कानून अधिकृत खडक सिंह कुञ्जेडा लगायत रहेका थिए ।
