२० चैत्र २०८२, शुक्रबार April 3, 2026

रेडियोः जीवनसँगै हिँड्न सिकायो

१ फाल्गुन २०८२, शुक्रबार
रेडियोः जीवनसँगै हिँड्न सिकायो

संगीता बोहरा
रेडियो केवल आवाज मात्र होइन, समय र समाजलाई जोड्ने अदृश्य पुल हो । जहाँ इन्टरनेट पुग्दैन, त्यहाँ पनि रेडियोको आवाज सजिलै पुग्छ । प्रविधिको तीव्र विकासका बीच अहिले रेडियोको महत्व अलि कम भएको छ । तर गाउँघरमा भने यसको भूमिका अझै जीवन्त र प्रभावकारी छ ।
बाल्यकालको पहिलो साथी
सानो हुँदा रेडियो मेरो जीवनको अविभाज्य साथी थियो । बिहान उठ्ने बित्तिकै बुवाले बजाउनु भएको रेडियोमा “यो रेडियो नेपाल हो…” भन्ने आवाज मेरो पहिलो अलार्म जस्तै थियो । रेडियो नेपालको त्यो आवाजले हरेक बिहान मेरो निन्द्रा खुल्थ्यो र दिनको सुरुवात गराउँथ्यो ।
बाल्यकालमा रेडियो सुन्ने रहर यति प्रबल थियो कि कहिलेकाहीँ खाना छुट्थ्यो, तर कार्यक्रम छुट्दैनथ्यो । गीत, कथा, समाचार सुन्दै म आफैं पनि एकदिन रेडियोमा बोल्ने सपना बुन्थेँ । कार्यक्रममा फोन गरेर सहभागी हुनु, समाचारमा प्रतिक्रिया दिनु, यी सबै अनुभवले मेरो बाल्यकाललाई उत्साही र रंगीन बनाएको थियो ।


एक्लोपनको औषधी
घरको काम गर्दा होस् या वनजङ्गलतिर गोठालो जाँदा होस्, बाटोमा हिड्दै गर्दा होस्, पहाडका डाँडापाखामा, रेडियो मेरो सधैंका साथी बनेको थियो । रेडियो खोल्न पाएपछि मलाई अरू साथीको आवश्यकता महसुस हुँदैनथ्यो । गीत, साहित्यिक कार्यक्रम र समाचार यी सबै मेरा साथी थिए । रेडियोसँग बिताएका ती पलहरूले मलाई कहिल्यै एक्लो महसुस हुन दिएनन् । त्यही बेला मनमा सपना पलायो “एकदिन म पनि रेडियोमा समाचार पढ्ने र कार्यक्रम सञ्चालन गर्ने व्यक्ति बन्छु ।”
सपनाबाट यात्रासम्म
बैतडीको विकट ठाउँमा बसेर रेडियो सुन्दै रेडियोमै बोल्ने सपना बुन्दै गर्दा मैले कक्षा १२ उत्तीर्ण गरेँ । त्यसपछि पत्रकारिता अध्ययन गर्ने दृढ निर्णय गरीं धनगढी आएँ । सुदूरपश्चिमकै शैक्षिक धरोहर कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा पत्रकारिता अध्ययन गर्दै गर्दा प्राध्यापक तथा रेडियोका प्रबन्धक भुवन भण्डारी सरले मलाई शैक्षिक रेडियो केएमसीमा सिक्दै काम गर्ने अवसर दिनुभयो । त्यसपछि हरेक बिहान “रेडियो केएमसी बज्यो सुदूरका जिल्ला…” भन्ने गीतसँगै दिन सुरुवात हुन्थ्यो । रेडियोले मलाई केवल पेशागत सीप मात्र सिकाएन, जीवनका महत्वपूर्ण निर्णय लिन, अवसरको मूल्य बुझ्न र समाजसँग जिम्मेवार बन्न पनि सिकायो । यस अर्थमा, रेडियो मेरो पहिलो सपना मात्र होइन, मेरो गुरु पनि बन्यो ।
रेडियो र समाज
आज पनि बाटोमा कसैले रेडियो सुन्दै गरेको देख्दा वा घरमा रेडियो देख्दा गर्व महसुस हुन्छ । यसले हामीले आफ्नो मौलिक सञ्चार माध्यम जोगाएर राखेको अनुभूति गराउँछ । गाउँघरका सर्वसाधारण मानिसहरूले रेडियोबाट धेरै कुरा सिकेका छन् । समाचार, गीत, कथा र विभिन्न जानकारीहरू सबैले ज्ञान र मनोरञ्जनको सुन्दर संगम प्रस्तुत गर्छन् ।
विशेष गरी जहाँ इन्टरनेटको पहुँच छैन, त्यहाँ रेडियोको महत्व अझै उत्तिकै छ । रेडियोबाट प्रसारण हुने सूचना साक्षर र निरक्षर दुवैले सजिलै बुझ्न सक्छन् । त्यसैले “रेडियोको जमाना गयो” भन्ने होइन, यसको आवाज अझै समाजको धड्कनसँग जोडिएको छ ।
मेरो अनुभव, मेरो प्रेरणा
मेरो लागि रेडियो केवल मिडिया होइन, यो मेरो जीवनको साथी, मेरो सपना, मेरो गुरु र समाजको शिक्षक हो । बाल्यकालदेखि आजसम्म रेडियोले मलाई कहिल्यै एक्लो महसुस हुन दिएको छैन । यसले मलाई अझ ठूलो सपना देख्न, अगाडि बढ्न र समाजसँग जोडिन निरन्तर प्रेरणा दिइरहेको छ ।
विश्व रेडियो दिवसको अवसरमा सम्पूर्ण रेडियोकर्मी तथा रेडियोप्रेमीहरूलाई हार्दिक नमन र शुभकामना । रेडियोको आवाज सधैं जीवनसँगै गुन्जिरहोस् ।
रेडियो केएमसी, धनगढी