काठमाण्डौं । यस वर्षको माघी पर्वको अवसरमा थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ । माघी पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव–२०७९ काठमाडौँ’ हुन लागेको हो ।
थारु कल्याणकारिणी सभाको संयोजनमा थारु राष्ट्रिय माघी महोत्सव २०७९ मूल आयोजक समितिको आयोजनामा पुस ३० गते र माघ १ गते महोत्सव हुने मूल आयोजक समितिले जानकारी दिएको छ । माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।
‘थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, न्याय, समानता र अधिकारका लागि हाम्रो आन्दोलन’ भन्ने मूल नाराको साथमा हुन लागेको महोत्सव माघ १ गते मध्यान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुने मूल आयोजक समिति सदस्य कानुनलाल चौधरीले जानकारी दिए ।
उनका अनुसार पुस ३० गते बिहान ७ बजे कोटेश्वरबाट मोटरसाइकल ¥याली सुरु भई भृकुटीमण्डपमा समापन हुनेछ भने माघ १ गते बिहान १० बजे थारु संस्कृति, भेसभुसा, बाजागाजासहित वसन्तपुरमा जम्मा भएर झाँकी ¥याली प्रदर्शनसहित रत्नपार्क परिक्रमा गर्ने कार्यक्रम पनि रहेको छ । महोत्सवको व्यवस्थापनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको मूल समारोह समिति सदस्य कानुनलाल चौधरीले बताए ।
थारू विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष तथा महोत्सव टेन्ट व्यवस्थापन उपसमितिका संयोजक चन्द्रप्रसाद थारुले महोत्सवका लागि आर्थिक स्रोत संकलन तथा अन्य व्यवस्थापनको काम भइरहेको बताए । उनले महोत्सवमा आउने दर्शकलाई निःशुल्क रुपमा प्रवेशको व्यवस्था मिलाइएको जानकारी दिए । महोत्सवमा करिब एक लाख दर्शकले अवलोकन गर्ने जनाइएको छ ।
माघे संक्रान्तिलाई थारू समुदायले सबैभन्दा ठूलो पर्वको रुपमा मनाउँछन् । पश्चिमा थारू समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी पर्वलाई ठाउँअनुसार माघ, माघी, तिला संक्राइट, खिचराका नामले पनि चिनिन्छ ।
महोत्सवमा थारु सांस्कृतिक झाँकी ¥याली प्रदर्शन, सांस्कृतिक प्रस्तुति, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला प्रदर्शन, पुस्तक प्रदर्शनी र बिक्री, मोटरसाइकल ¥याली लगायतका विभिन्न कार्यक्रमहरू रहने जनाइएको छ । खानपिन, हस्तकला, पुस्तक प्रदर्शनी लगायतका १०० वटा स्टल रहने आयोजकले जनाएको छ ।
यस पर्वमा विशेषगरी थारू परिकारमा ढिक्री, अनदीको भात (चिचर), झझरा, तिलको लड्डु, भुजा, सुंगुरको मासु, माछा तथा सिध्राको परिकार, गंगटा, मुसाको चटनी, लैया, जाँरको झोल, महुवाको रक्सी, सिन्की तथा वयरको चटनी रहने जनाइएको छ ।