कैलाली । कैलालीको घोडाघोडी नगरपालिका जिल्लामै छैठौं साक्षर नगरपालिका भएको छ । नगरपालिकाले विहीबार एक औपचारिक कार्यक्रम मार्फत साक्षर नगरपालिका घोषणा गरेको हो । प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेस सभा सदस्य अमर बहादुर साउदले नगरपप्रमुख ममता प्रसाद चौधरीलाई साक्षर घोषण प्रमाण पत्र प्रदानगर्दै साक्षर नगरपालिका भएको औपचारीक घोषणा गरेका थिए ।
प्रदेश सभा सदस्य साउदले स्थानीय सरकारले पहिलो कार्यकालमा महत्वपुर्ण कार्य गरेको बताए । उनले भौतिक विकासमात्र विकास नभएको बताउदै साक्षर नगरपालिका हुनुपनि विकास भएको बताए । उनले घोडाघोडी नगरपालिका साक्षर नगरपालिका संगै निकट भविष्यमा स्वच्छ खानेपानीयुक्त नगरपालिका घोषण गर्न सकिने बताए । उनले भने ‘नगरका केहि वडा बाहेक धेरै वडामा सरकारले खानेपानीको व्यवस्था गरेको छ । अवको तीन बर्षमा अन्य वडामा समेत स्वच्छ खानेपानी पुगाउने तार्गेट छ ।’
नगरप्रमुख ममता प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न साक्षर घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर थापा, शिक्षा विकास तथा समन्वय ईकाई कैलालीका प्रमुख बैकुण्ठ सुवेदी,नेपाली कांग्रेसका नगर सभापति बम बहादुर सिंह, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष खगेन्द्र हमाल, नेकपा एमाले पार्टी प्रतिनिधि हरीलाल सापकोटा, नेकपा समाजबादीका नगर अध्यक्ष खेमराज जोशी, राप्रपा नगर अध्यक्ष शेर बहादुर बोहरा लगायतले मन्तब्य राखेका थिए ।
शिक्षाशाखा प्रमुख उमेश रेग्मीले सञ्चालन गरेको कार्यक्रममा उपप्रमुख प्रेमकुमारी थापा, जिल्ला समन्वय समितिका सदस्य मालती विक,घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंह ,घोडाघोडी शिक्षक महासंघका अध्यक्ष काशीराम जोशी लगायत शिक्षा समितिका पदाधिकारी ,विद्यालयका प्रधानाध्यापक,वडाअध्यक्षहरुको उपस्थिति रहेको थियो ।
१२ वटा मापदण्ड मध्ये ६ वटा मापदण्ड पुरा भएमा साक्षर घोषणा गर्ने व्यवस्था भए बमोजिम साक्षर नगरपालिका घोषणा गरिएको नगरप्रमुख ममता प्रसाद चौधरीले जनाए । उनले ९६ प्रतिसत जनता साक्षर रहेको र बाँकी ४ प्रतिसत जनतालाई समेत साक्षर बनाउन स्थानीय सरकार लाग्ने बताए । उनले नगरका केहि विद्यालयलयमा घेरबार र भौतिक पूर्वाधारको समस्या बाहेक सबै विद्यालयहरुमा स्वच्छ खानेपानी, सेनेटेरी,भौतिक पूर्वाधार प्रयाप्तता भएको बताए ।
शिक्षा शाखा प्रमुख उमेश रेग्मीले साक्षर नगरपालिका घोषणका लागि राष्ट्रभाषा वा मातृभाषाका वर्ण अक्षर पढाई र लेखाई ,नेपाली वा मातृभाषमा लेखिएका मूल्यसूची, बीलको पढाइ,आफ्नो र परिवारका सदस्यको नाम,उमेर लेखाई र पढाई,मोवाईल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न,० देखि ९ सम्मका अंक अक्षर लेखाई, १ देखि १०० सम्म गणना, लेनदेनका हरहिसाव रखाई, सरल चित्र,पोष्टर ,साईनबोर्ड र ट्राफिक संकेत पढाइ र बुझाई, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सकृय सहभागिता देखाउन,घडी हेरेर समय बताउन, भित्तेपात्रो हेरी तिथिमिति बताउन,बैंक भौचर भराई र चेक खिचाई गरी जम्मा १२ वटा मापदण्ड तोकिएको जानकारी दिए । उनले उक्त मापदण्डका आधारमा साक्षरता मुल्यांकन गर्दा कम्तिमा ५० प्रतिशत सक्षमता हासिल गर्नसक्ने व्यक्तिलाई साक्षरताको प्रमात्रपत्र दिनसकिने व्यवस्था भएको जनाए ।
सामुदायिक सिकाई केन्द्रको समन्वयमा यस अघिनै वडा साक्षर घोषणा सम्पन्न गरि अन्तमा नगर साक्षरता घोषणा गरिएको हो । केन्द्रका अध्यक्ष शिवप्रसाद ढकालले यस अघि मंसिर २९ गते देखि १२ गतेसम्म प्रत्येक वडामा वडा साक्षर घोषणा कार्यक्रम सम्पन्न भएको जानकारी दिए । नगर साक्षर घोषणा कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभासदस्य साउँदले १२ वटा वडालाई वडा साक्षरको प्रमाणपत्र प्रदान गरेका थिए ।