१३ बैशाख २०८१, बिहीबार April 25, 2024

यस्तै यस्तै छ सरकार

२५ श्रावण २०७८, सोमबार
यस्तै यस्तै छ सरकार

तिमी कराउ, चिल्लाउ वा रोउ
तिम्रो पुकार तिमी बाहेक अरु कसैले सुन्दैन
तिम्रो दुःख पिडा तिमी बाहेक अरु कसैले बुझ्दैन
तिम्रो मनभित्रको घाउको दुखाइ तिमी बाहेक अरु कसैलै देख्दैन
न त सरकारले देख्छ, न त सुन्छ, न बुझ्छ
जसले देख्छ, सुन्छ, कुरा पनि बुझ्छ
उ मौन छ
किन ?
किन की
सरकार हुनेहरुको लागि हो
सरकार उनीहरुको लागि हो
सरकार रुनेहरुको लागि होइन
आँशु पुछ्नेहरुको लागि होइन
नेता चुन्नेहरुको लागि होइन
सपना बुन्नेहरुको लागि होइन
हो यस्तै यस्तै छ सरकार
आफु मात्रै खाएर डकार

अरुले भोकभोकै सुटुन्
खाना नखाइकन मरुन्
दिनदहाडै अरुबाट लुटुन्
प्रहरी प्रशासन बाटै कुटुन्
तै पनि
जित
बलात्कारीहरुकै हुन्छ
अत्याचारीहरुकै हुन्छ
भ्रष्टचारीहरुकै हुन्छ
बन्दुकधारीहरुकै हुन्छ
हो यस्तै यस्तै छ सरकार
प्रशासनको हात हतियार

हतियारले गोली चलाउनेहरु
छानी छानी जानी जानी घर जलाउनेहरु
प्रशासनको आडमा गाउँ हल्लाउनेहरु
अर्काको अस्तित्व ढलाउनेहरु
चेलीबेटीको इज्जत लुट्नेहरु
होशियार
अब क्रान्तिको आगो बल्दै छ
क्रान्तिको ज्वाला दन्किदै छ
नेपाल आमा भन्दै छ
अन्याय माथि पाइला टेकेर
जब तिमी उनीहरु विरुद्ध विद्रोह गर्छौ
विद्रोहले एक दिन सफलताको शिखर चुमेको
सबैभन्दा पहिले उनीहरुले देख्ने छन
तिम्रो कुरा नसुन्नेहरुले सुन्ने छन
तिम्रो घाउको मर्म नबुझ्नेहरुले भन्ने छन्
हो यस्तै यस्तै छ सरकार
त्यसपछि
नदेख्ने सरकारले देख्छ
नसुन्ने सरकारले सुन्छ
नबुझ्ने सरकारले बुझ्छ
र,
एक दिन
सबैले भन्ने छन
हो यस्तै यस्तै छ सरकार ।
हो यस्तै यस्तै छ सरकार ।।
कैलारी गाउँपालिका–६, बेनौली ,कैलाली