बैशाख ७ गतेदेखि कोरोनाको दोस्रो डोज दिईने

-कैलारी अनलाइन

मङ्गलवार, ३१ चैत्र 6:10 PM

काठमाण्डौं, ३१ चैत । पहिलो चरणमा कोरोना खोप लगाएकाहरूलाई सरकारले आगामी वैशाखमा दोस्रो डोज लगाउने कार्यतालिका सार्वजनिक गरेको छ । स्वास्थ्य मन्त्रालयले वैशाख ७ देखि ११ गतेसम्म लक्षित समूहलाई कोरोना खोपको दोस्रो डोज लगाइने जनाएको छ ।
माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलगायतलाई वैशाख ७ देखि ११ सम्म दोस्रो मात्रा लगाइने सरकारले जनाएको छ ।
यो अभियान देशभर चल्ने छ । यस्तै दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका व्यक्तिलाई भने जेठ १५ देखि दोस्रो डोज दिने तयारी भइरहेको छ ।

सरकारले पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई भारतमा उत्पादित कोभिसिल्ड खोप लगाइदिएको थियो । अबको चरणमा कोभिसिल्डकै पहिलो डोज लिएकालाई दोस्रो डोज दिन लागिएको हो ।

भारतमा कोरोनाको महामारी उच्च स्तरमा पुगेसँगै नेपालमा पनि संक्रमण बढ्ने खतरा बढीरहेका बेला खोप अभियान चल्न लागेको हो ।
अहिले चीनले अनुदानमा दिएको खोप पनि लगाउने क्रम चलिरहेको छ । भारतबाट अग्रिम भुक्तानी दिईएको खोप पनि अझै आउन सकेको छैन ।

थप सम्बन्धित समाचार
Follow
Us