कैलारी गाउँपालिकाको ३६ प्रतिशत योजनाको काम पूरा

-कैलारी अनलाइन

बुधवार, २९ बैशाख 5:32 PM


हसुलिया, २९ वैशाख । कैलालीको कैलारी गाउँपालिकाले चालू आर्थिक वर्षमा संचालन गरेकामध्ये हालसम्म ३६.४७ प्रतिशत योजनाको काम सम्पन्न भएको छ ।

कोरोना महामारीका बाबजुद सो गाउँपालिकाले ६२ वटा योजनाको काम सम्पन्न गरेको हो । यो आर्थिक वर्षमा १७० वटा योजना कार्यन्वयनमा रहेको गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिए । “बाकी योजनाको काम पनि कार्यन्वयन भइरहेको छ”, उनले भने ।

चालू आर्थिक वर्ष सकिन दुई महिना बाकी रहेको बेला धेरै जसो योजनाको काम पूरा हुने क्रममा रहेको जनाइएको छ । कोरोना महामारीका बाबजुद उपभोक्ता समितिहरुले काम गरिरहेको गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए । “कोरोना महामारीले काम रोकिएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर उपभोक्ता समितिले काम गरिरहेका छन”, उनले भने । “तर, काम गर्न बाधा भने अवश्य भएको छ ।”

चालू आर्थिक वर्षमा सम्झौता भएकामध्ये अझै १०८ योजना सम्पन्न हुन बाकी रहेको छ । शतप्रतिशत योजनाको काम पूरा नभए पनि आर्थिक मसान्त लाग्दासम्म धेरै योजना सम्पन्न हुने प्रवक्ता चौधरीले विश्वास व्यक्त गरे ।

सो गाउँपालिकामा हालसम्म सडक निर्माण, बाटो ग्राभेल, पुल, विद्यालय भवन निर्माण, बीओपी निर्माण, सडक स्तरोन्नति, कल्भर्ट, सामुदायिक भवन निर्माण जस्ता योजना सम्पन्न भएका छ्न ।

थप सम्बन्धित समाचार
Follow
Us