कपिलवस्तु साझेदारी वनले जिल्लाको ४ पालिकाको उपभोक्तालाई बिरुवा वितरण गर्ने

-कैलारी अनलाइन

बुधवार, २ आषाढ 2:26 PM

राम अवतार चौधरी
कपिलवस्तु, २ असार ।
कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिले निर्माण गरेको नर्सरी अनुगमन गरिएको छ । वनले महाराजगन्ज नगरपालिकामा रहेको नर्सरीमा एक लाख ५० हजार बिरुवा उत्पादन गरेको समितिले जनाएको छ ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य लगायत जिल्लाका सक्रिय पत्रकार र वनका पदाधिकारीको टोलीद्वारा सोमबार वनले नर्सरीमा उत्पादन गरेका बिरुवा लगायतको गतिविधि अनुगमन गरिएको हो ।

साझेदारीको नर्सरीमा टिकका बिरुवा १ लाख, बकाइनो, इपिल, गुल्ममोहर, खयर, मसला, तेजपता लगायत अन्य प्रजातिका ५० हजार गरी कुल १ लाख ५० हजार बिरुवाहरु उत्पादन गरिएको सहायक वन अधिकृत एजाज अन्सारीले जानकारी दिए । उक्त वनले उत्पादन गरेको बिरुवाहरु जिल्लाको महाराजगन्ज, शिवराज, बुद्धभुमि र कृष्णनगरका २१ वटा वडाका १६ हजार घरधुरीका उपभोक्ताहरुलाई निःशुल्क रुपमा असारको पहिलो सातादेखि वितरण कार्य सुरु गरिने उनले जनाए । वनले महाराजगन्ज नगरपालिकाको वडा नं ११ बलरमवापुरमा १० कठ्ठा जग्गा लिजमा लिइ आरा मिल लगाउने तयारी भैरहेको समेत अधिकृत अन्सारीले बताए ।

साझेदारी वनले नर्सरीमा उत्पादन गरेको विभिन्न प्रजातिका बिरुवा तथा जग्गा लिजमा लिइ आरा मिल लगाउने तयारी भैरहेको लगायत गतिविधिको अनुगमन गर्दै वनले उत्पादित बिरुवाहरु उपभोक्ताले वृक्षारोपण गरी वनलाई हरभरा बनाउन अध्यक्ष गंगेशनाथ तिवारीले आग्रह गरे । वनमा उत्पादन भएका बिरुवाहरु काट्न गर्न मात्रै जागरुक नभई रोप्नमा पनि जागरुक हुनुपर्नेमा उनले जोड दिए । बिरुवा वृक्षारोपण गरे वातावरण हरियाली हुनु मात्र नभई अक्सिजन बढाउनुमा समेत मद्दत पुग्ने तिवारीले बताए । पछिल्लो समय बढी नै वन विनाश भएकोले वृक्षारोपण गरेर वातावरणीय सन्तुलन काय गर्नु सबैको दायित्व रहेको समेत उनले जिकिर गरे ।

साझेदारी वन अन्तर्गत महाराजगन्ज नगरपालिकाका ११ वडा, शिवराजका ४ वटा वडा, बुद्धभुमिका ४ वटा वडा र कृष्णनगर नगरपालिकाका २ वटा वडाका गरि कुल २१ वटा वडाका उपभोक्तालाई बिरुवा वितरण गरिने उनले बताए । सरकारले काठ वितरणमा रोक लगाएपछि अहिले साझेदारीमा गोलिया र कुकाठ गरि २३ हजार क्युफिट मात्रै काठ वितरण गर्न बाँकी रहेको अध्यक्ष तिवारीले जानकारी दिए ।

थप सम्बन्धित समाचार
Follow
Us