८ बैशाख २०८१, शनिबार April 20, 2024

कैलालीका नदीमा देखिन थाले डल्फिन

२० असार २०७९, सोमबार
कैलालीका नदीमा देखिन थाले डल्फिन

कैलाली । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण कैलालीमा डल्फिन अवलोकनको सिजन सुरु भएको छ । मनसुन लागेसंगै यो जिल्लामा डल्फिन अवलोकनको सिजन सुरु भएको हो । नदीनालामा पानीको सतह बढेपछि आहारबिहारका लागि दुर्लभ डल्फिन आइपुगेका छन् ।
स्वच्छ पानीमा रमाउने गङ्गेटिक प्रजातिका ती डल्फिनहरु जिल्लाको दक्षिण–पूर्वस्थित नदीनालामा देखा परिरहेका छन् । कैलालीको दुर्लभ सम्पत्तिको रुपमा रहेका विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिका मनसुन अवधिभरि यहाँ बस्नेछन् । मनसुन सकिएर नदीमा पानीको सतह घट्दै गएपछि गहिराई खोज्दै फेरि डल्फिन कर्णाली नदीमा जाने गरेका छन् ।
हाल टीकापुर नगरपालिका–७ को बैदीस्थित मोहना, पथरैया, काँढा नदी र गैरी नालाको दोभानमा डल्फिन देखा परिरहेका डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्षसमेत स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गानाले जनाए । उनका अनुसार हाल तीन बच्चा र आठ वयस्कसहित ११ डल्फिन देखा परिरहेका छन् ।
‘मोहना–पथरैया, काँढा–पथरैया र पथरैया–गैरी खोलाको दोभानमा राम्रोसंग डल्फिन देखिदैंछन्’, उनले भने । ढुङ्गानाका अनुसार यस वर्ष बैदीमा असार १५ गते साँझ डल्फिन आइपुगेका हुन । गतवर्ष यहाँ चाँडै मनसुन आएपछि असार १ गते डल्फिन आइपुगेका थिए । यो वर्ष ढिलो गरी मनसुन पुगेपछि दुई हप्ता ढिला गरेर डल्फिनहरु कर्णाली नदीका सहायक नदीमा आइपुगेका ढुङगानाले बताए ।
अब मनसुन अवधिभरि यी नदीहरुमा डल्फिन अवलोकन गर्न सकिनेछ । मनसुन सकिएपछि डल्फिनहरु पनि गहिराई खोज्दै कर्णाली नदीको तल्लो तटीय क्षेत्रतर्फ लाग्ने गर्दछन् । कर्णालीमा बाह«ै महिना बसोबास गर्ने डल्फिन सहायक नदीहरुमा मनसुनमामात्रै अस्थायी रुपमा आउने गर्दछन् । नदीनालामा बाढी आएपछि कर्णाली, भारतको घाघरा नदीबाट यहाँ डल्फिन आइपुग्ने गरेको जनाइएको छ ।

खासगरेर उपयुक्त अहाराको खोजी र बच्चा हुर्काउनका लागि कर्णालीका सहायक नदीहरुमा डल्फिन आउने गरेको ढुङ्गानाको बुझाइ छ । उनले हरेक वर्ष बच्चासहित डल्फिन आउने गरेको जानकारी दिए । बच्चा हुर्काउन आएको बेला भजनी नगरपालिका–८, ३ र टीकापुर नगरपालिका–७ मा पर्ने नदीनालामा राम्रोसंग यी जलप्राणीको अवलोकन गर्न सकिन्छ ।
नदीनालामा डल्फिन आइपुगेपछि स्थानीयवासीमा उत्साह बढेको छ । डल्फिन देखिने क्षेत्र बाढी र डुबान प्रभावित क्षेत्र रहे पनि पानी बढेपछि डल्फिन पनि आउने गरेकाले जनसमुदाय खुशी भएको ढुङ्गानाले बताए । उनले समस्यामात्रै नभइ सम्भावना पनि रहेको उल्लेख गरे ।
स्वच्छ पानीमा आहारबिहार गर्न रुचाउने गङ्गेटिक प्रजातिको डल्फिनको लागि मुख्य चुनौती नै प्रदुषण रहेको छ । पानी प्रदुषित भएमा डल्फिनलाई समस्या हुने गरेको समुदायस्तरमा बुझाइ छ । यसैगरी, डल्फिनको आहारा प्रजातिको कमी भएमा पनि डल्फिन कम हुने गरेको संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउँछन् ।
उनका अनुसार कैलालीका नदीमा धेरै पहिलेबाट मनसुनमा डल्फिन देखिने गरेको स्थानीयले बताउने गरे पनि यसको व्यवस्थित तरिकाले संरक्षण गर्ने कार्य भने २०५६ सालबाट सुरु भएको थियो । त्यसको अगुवाई ज्येष्ठ संरक्षणकर्मी भोजराज श्रेष्ठ गुलेली बाजेले गरेका थिए । हाल, सङ्घीय, प्रदेश र स्थानीय सरकारले पनि संरक्षणमा हातेमालो गरिरहेको संरक्षणकर्मी विजयराज श्रेष्ठको भनाइ छ । पहिले भने विशुद्ध रुपमा समुदायमात्रै संरक्षणमा सक्रिय रहेका थिए ।
डल्फिन संरक्षणकै लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले डल्फिन संरक्षण कार्ययोजना पनि दुई वर्ष पहिले नै बनाइ सकेको संरक्षणकर्मी श्रेष्ठले बताए । ‘अहिले संरक्षणमा सरोकारवालाको भूमिका सकारात्मक देखिएको छ’, उनले भने । ‘टीकापुर, भजनी नगरपालिकासहित प्रदेश, सङ्घीय सरकारले पनि सहयोग गरिरहेका छन् ।’
श्रेष्ठका अनुसार कैलालीमा सबैभन्दा बढी १३० वटा डल्फिन गणना भएको तथ्याङ्क छ । २०५९ को भदौमा १४ घाटबाट गणना गर्दा सो सङ्ख्यामा डल्फिन फेला परेका थिए । पछिल्ला दिन डल्फिनको सङ्ख्या त्यति धेरै पुगेको छैन ।
डल्फिन अवलोकनको सिजन सुरु भएपछि स्थानीय हर्षित भएका छन् । डल्फिन अवलोकन गर्न आउने पर्यटकहरुका लागि टीकापुर नगरपालिकाले नदी किनारमा ‘बिच बेन्च’ राखि दिएको छ । सो बेन्चमा बसेर पर्यटकलाई डल्फिन अवलोकन गर्न सहज हुने बताइएको छ । यो वर्ष गतविगतभन्दा बढी पर्यटक डल्फिन अवलोन गर्न आउने अपेक्षा गरिएको ढुङ्गानाको भनाइ छ ।
पश्चिमटुडेबाट