रक्तअल्पता न्यूनीकरणका लागि कैलारीमा पनि किशोरीलाई आइरन चक्की र फोलिक एसिड

-कैलारी अनलाइन

सोमवार, १९ माघ 5:21 PM

हसुलिया, १९ माघ । कैलालीको कैलारी गाउँपालिकामा पनि किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाउने कार्य सुरु भएको छ ।

किशोरीमा देखिने रक्तअल्पता समस्या न्यूनीकरणका लागि उनीहरुलाई आइरन चक्की र फोलिक एसिड खुवाउने कार्य सुरु गरिएको हो । कैलारीमा विद्यालय गइरहेका र विद्यालय बाहिर रहेका गरी पाँच हजार ४०८ जना किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाउने लक्ष्य रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र सापकोटाले जानकारी दिए ।

उनका अनुसार १० देखि १९ वर्ष उमेर समूहका किशोरीलाई हप्तामा एक÷एक चक्की गरी १३ हप्तासम्म आइरन चक्की र फोलिक एसिड खुवाइने छ । १३ हप्ता पुगेपछि सो कार्य १३ हप्तासम्म स्थगित गरिने र फेरि १३ हप्तासम्म आइरन चक्की र फोलिक एसिडक खुवाइने सापकोटाले बताए ।

नेपालमा २१ प्रतिशत किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ । सो समस्या समाधानका लागि आइरन चक्की र फोलिक एसिड खुवाउने कार्य थालिएको हो । गाउँपालिकामा रहेका ५० वटा विद्यालयमा अध्ययनरत किशोरीलाई स्वास्थ्य विषय पढाउने शिक्षकमार्फत र विद्यालय बाहिर रहेका किशोरीलाई १२५ जना महिला स्वास्थ्य स्वयम् सेविकामार्फत आइरन चक्की र फोलिक एसिड खुवाउने व्यवस्था गरिएको सापकोटाले बताए ।

थप सम्बन्धित समाचार
Follow
Us