मेयर चौधरीमाथि गोली प्रहार गरेको अरोपमा चारजना सार्वजनिक

-kailarionline

बिहिवार, १ चैत्र 11:01 AM

धनगढी, १ चैत । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई गोली प्रहार गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्बजनिक गरेको छ ।
पक्राउ परेकाहरुमा घोडाघोडी नगरपालिका १ लक्ष्मीपुर बस्ने ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ बस्ने ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय पुर्णप्रसाद खनाल र टिकापुर नगरपालिका १ का ३० वर्षीय हृदयराज बोगटी छन् ।
जिल्ला प्रहरी कार्यालय धनगढीले बिहीबार बिहान पत्रकार सम्मेलन गरी आरोपीहरूलाई सार्वजनिक गरेको हो । उनीहरु नेकपा माओवादी विप्लव समूहका रहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले घटनामा अन्य ९ जनाको समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै खोजी र अनुसन्धान भइरहेको जानकारी दिए ।

उनीहरुलाई मेयर चौधरीलाई गत फागुन २८ गते राति खुकुरी र गोली हानेको आरोप छ । टाउकोमा खुकुरी र कम्मर मुनिको भागमा गोली लागेर घाइते भएका चौधरीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

 

 

यसै बिच जिल्ला प्रहरी कार्यालय कैलालीले बोक्सी आरोपमा अमानवीय कार्य गर्ने ६ जनालाई समेत सार्वजनिक गरेको छ ।
फागुन २४ गते घोडाघोडी नगरपालिका, देवकलियामा बोक्सी आरोपमा किशोरीलाई यातना दिएको आरोपमा ६ जना पक्राउ परेका थिए । घटनाको मुख्य अभियुक्त भोलेबाबा भनिने रामवहादुर चौधरी, उनकी मुख्य सहयोगी १८ वर्षीया किस्मती चौधरी, २४ वर्षीया स्मारिका चौधरी, घोडाघोडी वडा नं ५ बस्ने ३४ वर्षीय वेदप्रसाद चौधरी, सोही ठाउँका ३३ वर्षीया चनकला चौधरी र ४१ वर्षीय सितारानी चौधरीलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरु सबैले आफ्नो अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक घिमिरेले बताए ।

थप सम्बन्धित समाचार
Follow
Us