महिलालाई सेनेटरी प्याड बनाउने तालिम, गाउँमै रोजगारी सृजना

-कैलारी अनलाइन

शनिवार, २९ कार्तिक 6:54 AM

हसुलिया, २९ कार्तिक । महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले कैलारी गाउँपालिका वडा नं ७ मा सञ्चालित ७ दिने सेनेटरी प्याड र डाइपर बनाउने तालिमको समापन भएको छ ।
कैलारी गाउपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा समिक्षा महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा वडा नं. ७ अन्र्तगतका २० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिम पश्चात सहकारीले गाउँमै उद्योग स्थापना गर्ने जनाएको छ । सेनेटरी प्याड र बेबी डाइपर उत्पादन गर्ने उद्योग गाउँघरमै उद्योग स्थापना गरि महिलालाई स्वरोजगार र आयआर्जन गरेर आत्मनिर्भर बनाउने उद्देश्यले उक्त तालिम दिएको सहकारीकी अध्यक्ष उर्मिला चौधरीले जानकारी दिइन् ।


आयआर्जनका लागि सीप तथा व्यावसायिता विकास कार्यक्रम अन्तरगतको उक्त तालिमको समापन गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौँवा थारुले गरेकी थिइन् । उपाध्यक्ष थारुले तालिममा सहभागि महिलाले तालिम पश्चात गाउँघरमै रोजगारी पाउने आशा व्यक्त गरिन् ।
महिला बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले सहकारी संस्थाले सेनेटरी प्याड र डाइपर बनाउने उद्योगको रुपमा सञ्चालन गर्नाले व्यवसायको दिगो विकास हुने र यस क्षेत्रका महिलाले रोजगारी प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।
तालिममा महिलाहरुलाई कभर पयाड बनाउ सिकाईएको छ । यो प्याड एकचोटि प्रयोग गरिसकेपछि धोएर राम्रो घाममा सुकाएर पुनः प्रयोग गर्न मिल्ने बताइएको छ । यो प्याड अन्य प्याड भन्दा एकदमै सस्तो र राम्रो रहेकोले कमखर्चमै गाउँघर सबै महिलाले प्रयोग गर्न सकिने बताइएको छ ।
समापन कार्यक्रममा वडा नं. ७ का वडा सदस्य सुन्दरप्रसाद चौधरी, सहकारीकी उपाध्यक्ष विष्णु चौधरी लगायतले मनतब्य राखेका थिए ।

थप सम्बन्धित समाचार
Follow
Us