भगवान कृष्णको जन्मदिनमा ‘अष्टिम्की’ : थारु महिलाको ‘स्वतन्त्रता’को पर्व

-कैलारी अनलाइन

मङ्गलवार, २३ भाद्र 4:40 PM

सन्ताेष दहित 

facebook sharing button
twitter sharing button
email sharing button
sharethis sharing button

थारु समुदायको आफ्नै मौलिक भेषभूषा, कला, संस्कृति सँगसँगै विभिन्न पर्वहरू पनि फरक र रोचक रूपमा पाइन्छ। 

यी समुदायका विभिन्न चाडपर्व सँगसँगै अष्टिम्की पर्व पनि एक महत्त्वपूर्ण पर्व हो। खासगरी महिलाले मात्र मनाइने पर्व हो ‘अष्टिम्की’। 

कृष्ण अष्टमीको दिन मनाइने पर्वलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ। अष्टिम्कीको उत्पत्ति ‘अष्टमीटिको लगाउनु’ बाट भएको थारु संस्कृतविद् अशोक थारुको भनाइ छ।

‘अष्टिम्की’ अर्थ भाद्र महिनाको अष्टमी तिथिमा श्रीकृष्ण अर्थात् ‘कान्हा’ जन्मेकाले उनलाई टिको लगाउनु हो। 

‘कान्हा’को जन्मदिनलाई थारु महिलाले ‘अष्टिम्की’ को रूपमा ब्रत उपवासका साथै उनको जीवनी चित्रणमा भित्ते चित्र कोरेर धुमधामसँग टीका, फलफूल अर्पण तथा दीप प्रज्वलन गरी जलले मनाउने गर्दछन्।  

‘अष्टिम्की’ पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायका महिलाले उल्लासमय वातावरणमा मनाउँदै आएका छन्।

स–सानो १०–११ वर्षका बच्चादेखि ६०÷६५ वर्षको वृद्ध महिलाले यो पर्व मनाउँदै आएको पाइन्छ। 

‘अष्टिम्की’ तयारी 

‘अष्टिम्की’ आउने एक डेढ हप्ता अघिदेखि थारु महिला ‘अष्टिम्की’को तयारीमा जुटेका हुन्छन्। 

थारु महिलाको सबैभन्दा महान् पर्व भएकाले त्यस दिनमा विशेष गरी नयाँ कपडा (रातो, कालो चोली, सेतो गुन्यू), विभिन्न थरिथरिका गहनाको तयारी गर्ने गर्छन्। 

यसरी कपडा र गरगहना तयारी गरिसकेपछि ‘अष्टिम्की’को अघिल्लो रात दर खानका लागि माछा मार्ने, घोंघी खोज्न जाने गर्दछन्। 

अष्टिम्कीमा विशेषगरी थारु महिलाहरूले घोंघी र माछासँग दर खाने गर्दछन्। 

त्योसँगै मासु अन्य मीठा मीठा परिकारका लागि पनि तयारी गर्ने गरिन्छ। 

यसैगरी चित्र बनाउका लागि विभिन्न थरिका रंग, चुन, गोबर माटो, चित्र कोर्नका लागि बाँसको ब्रस आदि जुटाइने गरिन्छ। 

त्यस्तै पकाउनका लागि दउरा, अग्रसान ‘कोसेली’ दिन जान सालको पात टिपेर टपरी लगाउने, घर सरसफाइ गर्ने लगायत कामको तयारी गरेका हुन्छन्। 

‘अष्टिम्की’ मा के–के चित्र कोरिन्छ

‘अष्टिम्की’को पूजा गर्नका लागि महटावा घरको बैठक (बह्री) कोठालाई उपयुक्त मान्दछन्। 

त्यो दिन बैठक कोठा बिहानै लिपपोत गरेर सफा गरिन्छ। 

त्यही बैठक कोठाको उत्तरपट्टिको भित्ता या ‘डेउँडी’मा चतुर्भुज आकारमा बनाई गोबरमाटोले लिपपोत गरिसकेपछि त्यसलाई सेतो चुनले पोतिन्छ।

त्यसको छेउमा छेउमा विभिन्न थरिका रंगीचंगी रंगले चारैतिर पोतिसकेपछि त्यसैको बीचमा सबैभन्दा माथि पाँचजनाको चित्र बनाइन्छ। 

त्यही सबैभन्दा बीचको चित्रलाई श्रीकृष्णको चित्र हुन्छ। ‘अष्टमी’को दिन श्रीकृष्णलाई हिरो बनाइन्छ। 

किनकि अष्टिम्कीको दिन श्रीकृष्ण अर्थात् ‘कान्हा’को पूजा गरिन्छ। यसरी श्रीकृष्णको दायाँ सूर्य र बायाँ चन्द्रमाको चित्र कोरिन्छ। 

त्यसैगरी दोस्रो लाइनमा सातजना मान्छेको चित्र कोरिन्छ। जहाँ सात भाइ कौरवको प्रतिनिधित्व हुन्छ। 

यसैगरी तलको भागमा दुलाहा दुलही, दुलहीलाई पठाउन ठिक्क पारिएको ‘डोली’, दुलाहालाई पठाउन राखिएको ‘ड्वाला’ माछा, गंगटा, बाघ, हात्ती, मयुर, सर्प, गाई, बल्ला, बिरालो, वनजंगल, विभिन्न चराचुरुंगी, जनावर, बिच्छीलगायतको चित्र बनाइन्छ। 

कसरी पुज्छन् ‘अष्टिम्की’ मा पूजा

‘अष्टिम्की’को दिन जब साँझ पर्छ। थारु महिलाहरू विभिन्न रंगीचंगी रातो, कालो, नीलो चोली, सेतो गुन्यु, विभिन्न घाँटीभरि गरगहना लगाएर र बलिरहेको दियो, त्यसैमा रंगीचंगी फूल लिएर लाइनबद्ध गाँउभरिको महिला महटवाको घरमा जुट्छन्। 

गाँउभरिका सबै महिला भेला भइसकेपछि महटावाकी श्रीमती आइपुग्छिन्। र, अष्टिम्की’को पूजाको सुरुवात महटावाकी श्रीमतीबाट हुन्छ। 

यसरी भित्तामा कोरिएको चित्रको सबैभन्दा माथिको लाइनमा रहेको पाँच चित्रमध्ये बीचमा रहेका श्रीकृष्ण (कान्हा) लाई टिका लगाएर अन्य चित्रमा क्रमशः सिन्दुरको टीका, कलशको जलद्वारा पूजा गरिन्छ। 

यसरी महटवाकी श्रीमतीले पूजा गरिसकेपछि क्रमशः गाउँका सबैभन्दा पाकाबाट अन्य महिला पुज्ने गरिन्छ। 


 
‘अष्टिम्की’को पहिलो दिन

‘अष्टिम्की’ अघिल्लो रातमा दर खाइसकेपछि ‘अष्टिम्की’को दिन थारु महिलाहरू दिनभरि ब्रत बस्छन्। त्यसैगरी अष्टिम्कीकै दिन ‘अष्टिम्की’को चित्र बनाउका लागि पुरुष मान्छे पनि ब्रत बसेका हुन्छन्। 

यसरी यो दिन थारु महिलाले दिउँसो ११–१२ बजेतिर नुहाइधुवाई गरी अष्टिम्कीमा पूजा गर्नका लागि विभिन्न थरिको फूल, ज्यामिर, दियो बाल्न कपासको बत्ती, माटाको दियो, सालको पातको टपरी बनाउने तयारी गर्छन् भने पुरुष मान्छले अष्टिम्कीको चित्र बनाउनतिर लाग्छन्। 

अष्टिम्कीको चित्र बनाउन थारु महिलाले पनि सहयोग गर्ने गर्दछन्। यसरी चित्र बनाइसकेपछि बेलुका अर्थात साँझ ७÷८ वजेतिर गाँउका सबै थारु महिलाले आ–आफ्नो घरबाट टपरीमा थोरै चामल, दियो, फूल, ज्यामिर लिएर लाइबद्ध रूपमा महटावाको घरमा जाने गर्दछन्। 

त्यहाँ गाँउका सबै थारु महिला जुटिसकेपछि महटावाकी श्रीमतीले सबैभन्दा अगाडि पूजा सुरु गर्छिन्। यसरी महटावाकी श्रीमतीले पूजा गरिसकेपछि गाउँका ठूलाबाट सानोले क्रमशः पूजाआजा गर्ने गर्छन्। 

पूजा गर्ने बेला श्रीकृष्णलाई सबैभन्दा अगाडि सिन्दुरले टिक्ने गर्छन् अर्थात श्रीकृष्णलाई टीका लगाइसकेपछि भित्तामा कोरिएको अन्य सबै चित्रमा क्रमशः टीका लगाउने र टीका लगाइसकेपछि तीन या पाँचचोटि जल चढाउने सुरु गरिन्छ। 

त्यही क्रममा अष्टिम्कीको गीत पनि गाइन्छ। यसरी गाउँका सबैले पूजा गरिसकेपछि आ–आफ्नो घरमा गएर दही, फलफूल, खाइसकेपछि पुनः महटवाको घरमा गई रातभरि सामूहिकमा ‘अष्टिम्की’को गीत गाइन्छ। अष्टिम्कीमा यसप्रकारको गीत हुन्छ-

हरे पहिल छ सिर्जल जलथल धरती
सिरजी ट गैल हो कुसकै डाब २
सिरजी ट गैल लारी लरीचक साम
सिरजी ट गैल अन्न पुरुष
सिरजी ट गैल डाखी डरिउनका साग 
२ 

‘अष्टिम्की’ दोस्रो दिन    

यसरी रातभरि गीत गाइसकेपछि बिहान ६ बजे गाँउभरिको सबै थारु महिलाहरूले आ–आफ्नो टपरीमा रहेको बलिरहेको दियो ‘दीप प्रज्वलन’, ज्यामिर, फूल लिएर लाइनबद्ध भई नजिकैको खोलामा पुग्छन्। 

खोलामा गइसकेपछि सबैले पानीमा गएर लाइन लागेर बलिरहेको दियो ‘दीप प्रज्वलन’, ज्यामिर, फूल एकसाथ बगाउने गर्छन्। भने यता पछाडि पुरुषहरू लुंगी लुट्नका लागि खोलामा पर्खिरहेका हुन्छन्। 

त्यो दिन बगाएको ज्यामिर धेरै मीठो हुने गरेको थारु जानकारहरू बताउँछन्। 

यसरी थारु महिलाहरूले बलिरहेका दियो ‘दीप प्रज्वलन’, लुंगी, फूल बगाइसकेपछि सबैले नुहाइधुवाइ गरी आ–आफ्नो घरमा जान्छन्। 

घरमा आइसकेपछि उनीहरू हिजैकै दिनजस्तै भात, तीनथरिको तरकारी, अन्य मीठा मीठा परिकार आ–आफ्नो दाजुभाइको नाममा निकाल्ने (कहार्ने) गर्छन् जसलाई थारु भाषामा ‘अग्रसान’ भन्ने गरिन्छ। 

त्यही अग्रसान विवाहित महिलाका दाजुभाइ छन् भने आ–आफ्नो दाजुभाइलाई अग्रसान दिन जाने चलन छ भने अविवाहित गाउँका महिला अर्थात (बठिन्या) हरू एकठाउँमा जम्मा भएर जात्रा (लाखे) हेर्न जान्छन्। 

वर्षको एकचोटि आउने महान् पर्व अष्टिम्कीलाई थारु समुदायका महिला धुमधामसँग मनाउने गर्दछन्। 

यो पर्व मनाउन पाउने थारु महिलाको आफ्ना लागि ठूलो खुसी र स्वतन्त्रताको दिन पनि मान्ने गर्दछन्। 

सधैंभरि घरको काममा व्यस्त रहने थारु महिलाले अष्टिम्कीको दिन भने कुनै पनि काम गर्नुपर्दैन।

सबै काम पुरुषले गर्दिने गरेकाले उनीहरू स्वतन्त्रताको दिन ठान्छन्।

थप सम्बन्धित समाचार
Follow
Us