
बृहत पोषण प्याकेज सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु

हसुलिया, १० फागुन । कैलालीको कैलारी गाउँपालिका–५ स्थित पवेरामा स्वास्थ्यकर्मीका लागि बृहत पोषण प्याकेज सम्बन्धी क्षमता अभिवृद्धि तालिम आजदेखि सुरु भएको छ ।
कैलारी गाउँपालिकाको स्वास्थ्य शाखाले तालिमको आयोजना गरेको हो । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले एक कार्यक्रमकाबीच तालिमको उद्घाटन गरे ।
पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले बृहत पोषण प्याकेज सम्बन्धी तालिमको आयोजना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए । एक हप्ताका लागि आयोजना गरिएको तालिममा सो गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।
‘स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको हो’, सापकोटाले भने । ‘तालिममा सिकेका कुरा स्वास्थ्यकर्मीले आ–आफ्नो कार्यक्षेत्रमा लागू गर्नेछन् ।’
वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुप्रसाद चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।