थारु बालगीत ‘उक्रुङ्ग बुक्रुङ्ग’ भिडियो विमोचन, कला संस्कृति जोगाउन आवश्यक

-कैलारी अनलाइन

शुक्रवार, ७ कार्तिक 6:46 PM

धनगढी, ७ कार्तिक । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड सबै जातजातिको कला, संस्कृति जोगाउन आवश्यक रहेको बताएका छन् ।
थारु भाषाको पौराणिक पहिलो बालगीत ‘उक्रुङ्ग बुक्रुङ्ग’ भिडियो विमोचन कार्यक्रममा उनले सबै जातजातिको कला, संस्कृति बचाउन सके सबैको पहिचान हुने बताएका हुन् । नगरप्रमुख वडले कलाकार देशका गहना रहेकाले सम्मान गर्नु पनि सबैको दायित्व रहेको बताए । सम्बोधनकै क्रममा नगरप्रमुख वडले देश विकासको लागि अआफ्ना बच्चाहरुलाई सभ्य बनाउन जरुरी रहेको पनि बताए ।


कार्यक्रममा थारु कलाकार मञ्चका अध्यक्ष विनय बैद्य, मञ्चका प्रदेश अध्यक्ष संगत चौधरी, थारु कल्याणकारिणी सभा कञ्चनपुरका उपसभापति सानु चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।हमार म्युजिक बगियाका अध्यक्ष विर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बालगीत बारे ठाकुर प्रसाद करियाप्रधानले जानकारी दिएका थिए ।
साथै कार्यक्रममा गीता चौधरीले धन्यवाद दिएकी थिइन् । भिडियोमा बालकलाकार मनिष थारू, श्रविना चौधरी, ऋष्टिना चौधरी, सानु हरदिउला, ब्रेभिया चौधरी, लगायतको अभिनय रहेको छ । शब्द संकलन इन्दु थारूको रहेको गीतमा संगीत संयोजन सि.एल चौधरीको रहेको छ । गीतमा बाल कलाकार मनिष थारू र अमृता चौधरीले स्वर भरेका छन् ।
थारु बालबालिकाहरुले अत्यधिक रुचाइएको बालगीत ‘उक्रुङ्ग बुक्रुङ्ग’ भिडियो हमार म्युजिक बगियाको अफिसियल युट्यूब च्यानल मार्फत सार्वजनिक भएको हो ।

थप सम्बन्धित समाचार
Follow
Us