त्रासदीपूर्ण, पीडादायी र ह्दयविदारक ती भोगाइहरु…

-कैलारी अनलाइन

शनिवार, ३ आश्विन 9:45 PM

इन्दु थारू
मेरा स्मृतिहरुबाट भाग्न म आफूलाई बलजफ्ती व्यस्त राख्ने असफल प्रयास गरिरहन्थे । त्यसबेला मेरा एक साथीले भनेका थिए “जब तपाई आफैंलाई व्यस्त राख्नु हुन्छ, तपाई आफ्नो भावनाको नजिक हुनु हुन्न, तर तपाईको जीवनमा ती स्मरणहरुले निम्त्याउने तनावलाई रोक्न तपाई तिनको नजिक हुन जरुरी छ । आफ्ना भावनाहरुलाई दब्न नदिनुहोस्, तिनीहरुलाई जीउन दिनुस ।” हाम्रो स्मृतिको महत्व कति धेरै छ भन्ने कुरा सिलासा जीले भनेपछि म उहाँको कुरामा असहमत हुन सकिन । साच्चै नै पहिलो व्यक्ति कथा महत्वपूर्ण रहेको उहाँका कुरा विश्वस्त पार्ने खालका थिए ।

जनयुद्धको हाम्रो अनुभुति अत्यन्तै त्रासदीले भरिएको, पीडादायी र ह्दयविदारक छ । आज पनि ती भोगाइहरुका बारेमा कुरा गर्न मलाई सहज महसुस हुदैन । युद्धका बेला मैले मेरो तीन जना अभिभावक गुमाए । बाबा र अंकल माओवादी बन्नु भयो । छोराहरुलाई माओवादी बनाइस भन्दै हजुरबुवा र हजुरआमालाई यातना दिन्थे प्रहरी र सेनाले । रातदिन सेना पुलिसले घर घेरिएको हुन्थ्यो । उनीहरु सधैं गोली ठोकदिन्छु भन्थे, अनि पुरा परिवार बमले उडाइ दिन्छु भन्थे ।

यी भोगाइबारे कुरा गर्न मलाई कहिल्यै सहज लागेन । जीन्दगीले हामीसंग कति धेरै अन्याय गरेको रहेछ भन्ने आज पनि लागिरहन्छ । जब पनि यी भोगाई सम्झिन्छु, मेरा आखाँहरु रसाउछन् । त्यसैले यी भयावह स्मरणबाट म सकेसम्म भाग्न चाहन्छु कतै । त्यसैपनि त्रासदीपूर्ण विगत सम्झेर हुने पो के नै हो र, पीडा बाहेक, यस्तै लागेर ।

सहास चाहिन्छ, एक गजबको साहस । स्मृतिलाई स्मरण गर्न साच्चै साहस
चाहिन्छ । क्षतविक्षत भएका मेरा साहसहरु बटुल्ने प्रयास एकपटक पुन मैले गरे ।

मेरो स्मृतिमा आमा भन्नुहुन्छ— रातीराती पुलिस आउथे । बहुत डर लाग्थ्यो । काप्थे । भोक निन्द्रा सबै हराउथ्यो । कहाँ भागौ, कहाँ लुकौ हुन्थ्यो । श्रीमान् कहाँ छ भन्थे उनीहरुले । मलाई नेपाली बोल्न आउदैनथ्यो । घर खोजतलाश गर्थे । छातीमा बन्दुक ल्याएर तर्साउथे । मलाई माओवादी भनेको थाहा थिएन, पुलिस आउन थालेपछि मात्र थाहा पाएको हुँ । बच्चाहरुलाई कसरी खुवाउने, कसरी पढाउने सोचिरहन्थे ।

तेरो छोराहरु मारेर जंगलको तालमा फालिसक्यौ, ढकिया बनाउछस् ? रो बुढी भन्दै रुन लगाउथे पुलिसहरुले हजुरआमालाई । अन्न राख्ने डेहरी कुठ्ली अनि कपडा राख्ने भौका सबै खोजतलाश गर्थे बन्दुक कहाँ छ भन्दै । पुरा गाउँनै त्रासमा थियो, छिमेकीहरु गोटियारहरु हाम्रो घर आउन छाडेका थिए । किनभने घर सधैं सरकारी बन्धुकधारीहरुले घेरिएको हुन्थ्यो ।

हजुरआमा भन्नुहुन्छ पुलिसहरु “गोचाली परिवार” (थारुहरुको एक संस्था ) को किताब कहाँ छ भनेर सोध्थे । “मै परहेलिखे नइ जन्ठु” भनेर हजुरआमा जवाफ दिनुहुन्थ्यो । घरमा मुक्तिक डगर किताब भेटेपछि हजुरबुवालाई बहुत कुटे । मेरो सानो भाइलाई समेत छोडेनन् । म पढ्ने स्कूलमा गएर “माओवादीकी छोरीलाई किन पढाएको” भन्दै तर्साउथे उनीहरुले । कक्षा १० सम्म पढ्न मैले ७ वटा विद्यालयहरु फेर्न पर्यो । त्यसैगरी कहिले आफन्तकोमा त कहिले भाडामा बस्दै सेल्टर फेरिरहनपथ्र्यो ।

एक रात हजुरबुवालाई गिरफ्तार गरी लगे र असाध्यै यातना दिए उनीहरुले । हजुरबुवाको राम्रो उपचार हुन सकेन अनि हामीलाई छोडेर जानुभयो । हजुरबुवाको मृत्यु हुदा घरमा आफन्त कम, सेनापुलिसको आउजाउ धेरै थियो । बाबा र अंकल घर आउन सक्नु भएन । तर बाबाले चिठी पठाउनुभयो हजुरआमाको नाममा ।
डाई टु रोउ मने आँश ना गिराउ
आँश गिराके दुश्मनहे खुशी ना बनाउ

हजुरबुवाको मृत्यु भएको २ वर्ष नपुग्दै बाबाले शहादत प्राप्त गरेको खबर आयो । त्यसको वर्षदिन नपुग्दै अंकलको खबर । हामीले बाबा र अंकलको मृत शरिर भने देख्न पाएनौ । सबै पुरुष अभिभावक गुमाएपछि घरमा महिला र केटाकेटी मात्रै बाँकी भयौ । घरमा ३ जना एकल महिला (विधवा) देखे । एकल महिलालाई आफ्नै लागि बाँच्न र छोराछोरी हुर्काउन कति गाह्रो हुन्छ ।
देशले नयाँ संविधान पायो, गणतन्त्र आयो तर हामीले के पायौ या हामीजस्ता आम मानिसले के पाए ? हजुरआमाले सुनाउनुहुन्छ — घरमा सबैथोक छ छोरा, किन माओवादीमा गएको, छोडिदेउ माओवादी भनि छोराहरुलाई सम्झाएको । बाबा र अंकलको जवाफ हुन्थ्यो — हामी जनताका लागि लड्दै छौ आमा, जनता गरिब छन् । रातदिन काम गरेर पनि खान पाउदैनन् । जमिन्दारले दिएको एउटा रोटी पुरा परिवारले बाडेर खान्छन् ।

हजुरआमा गहभरि आँशु पारेर रुन्चे आवाजमा भन्नुहुन्छ— आज हाम्रो हालत त्यस्तै भएको छ । अब हामीलाई रोटी कसले खुवाउने ?
हजुरआमाको आवाजले म मा उथलपुथल पैदा गर्छ । अनि म सोच्छु हाम्रो बाबाअंकल जस्तै कैयौंको रगतले लटपटिएको गणतन्त्र नेपाल यति नाजुक कसरी भयो कि एक रोटी पनि आम मानिसको पहुचमा नहोस् ।

एक मौन मेमोरीभित्र हामी गुम्सिएका छौ । हामी परिवारभित्र पनि आफू आफू माझमा कुरा गर्दैनौ विगतबारे । त्यो विगत सम्झेर हामी फेरी रुन चाहदैनथ्यौ साएद, चाहे भित्रभित्रै त्यसले हामीलाई खाइरहेको होस् वा हामी भित्र त्यसले आगो दन्काइरहेको होस् । परिवारभित्र सम्भव भएजतिको विगतको फोटो, लुगा, वस्तु र कथाहरुको संरक्षण अनि याद गर्ने काम, यतिमा हाम्रो मौनता सिमित थियो । युद्धको बारेमा कुरा नगर्नु सजिलो थियो हाम्रा लागि । के मौनता पछाडीको एक कारण आफूलाई अरु सामु दुखेको नदेखाउनु थियोे ? तथाकथित शान्त समाजमा के हाम्रो व्यवहारिक मार्ग मौनता थियो ?

युद्ध सफल भयो, त्यसको मापन गणतन्त्र, धर्म निरपेक्ष र संघिय नेपालले गर्छ भन्ने राज्य संचालकहरुको प्रायोजित हौवा पिटाइले के हामीलाई मौन बस्न प्रभाव छोडेको थिएन ?

युद्धले छोडेका मनोवैज्ञानिक चोट संगालेर फेरी युद्धले हामीलाई मौन छोड्यो । साएद अर्को महत्वपूर्ण कुरा यो हो कि हामीलाई लाग्थ्यो, हामीले भनेको कुरा कसैले सुन्नेछैन । मुक्ति या मृत्युको कसम खाएर युद्ध मोर्चाका मेरा बाबा र अंकलका सहयात्रीले पनि । हजुरआमा भन्नुहुन्छ— हिजो युद्धका बेला क्रान्तिकारीहरु हिडेर पहाड पुग्थे, हिडेर तराई पुग्थे र पनि हालखबर लिइरहन्थे । अहिले कसैले सोध्दैन । सरकारमा गएपछि बिजी भएर होला ।

हाम्रो मेमोरी मौन थियो, यसको मतलब त्यसको उपस्थितीनै थिएन भन्ने होइन । हाम्रो मेमोरी असाध्यै आम थिए, त्यसैले छलफल र बहसको विषय बन्न÷बनाउन बर्जित थिए । तर दिल दिमागमा राज गरिरहने विषयको वर्जित स्थिती लामो समयसम्म कहाँ टिक्थ्यो होला । हो, हाम्रो स्मृति अनाधिकारिक र अलोकप्रियताको स्तरमा पर्दछन् अझै पनि । अनाधिकारिक यस अर्थमा कि हाम्रा स्मृतिहरु जति मौन रहन्छन्, सत्तासञ्चालकहरुलाई सत्ताको आयु टिकाइरहन उतिनै फाइदाजनक रहने भयो । अलोकप्रिय किनभने विजय प्राप्त गर्नेहरु, खासगरि राजामहाराजाहरुको स्मृति पो त लोकप्रिय ।

बरु हाम्रा स्मृतिहरु मेटाउन शासकहरुले दम लगाएर प्रयास गरे । जनयुद्ध घोषणापूर्व कैयौको घरमा भेटिने मेरो बाबाले प्रकाशन गर्नुहुने म्यागेजिन मुक्तिक डगर र अंकलले प्रकाशन गर्ने म्यागेजिन त्रासन अहिले भेटिदैन । मेरो बाबाले प्रकाशन गर्नु भएको गजल संग्रह “चोराइल मन,”“मैले पढेको हो, तर जोगाउन सकिएन” भन्नेहरु थुप्रै हुनुहुन्छ । मुक्तिक डगरको पहिलो प्रकाशन विस २०४९ मा मेरो बाबाको सम्पादकत्वमा भयो, र उहाँ बाँचुन्जेल ९ वर्षमा ७ अंक प्रकाशित गर्नुभयो । संकटकालको भयावह स्थितीमा ती सबै किताबहरु लुकाउने, लुकाउन पनि नसक्ने स्थिती भएपछि माटोमुनी गाड्ने वा जलाउने काम भयो । हामीसंग भएका सबै किताब, बाबा र अंकलका सबै फोटोहरु हजुरआमा र आमाले गाड्नु भयो । यी किताबका कथाहरु अनि यी किताबमाथि भएका ज्यादतीहरु, आज र पछि पनि मिथक लाग्नेछन् । किनभने तथ्य नष्ट गर्न शक्तिशाली राज्यनै लागि परेको थियो । आजका राज्य संचालक पनि कदापी चाहदैनन् कि तथ्यहरु प्रमाणित हुन सकुन ।


ती नष्ट गरिएका शब्द र छविहरुमा हाम्रो विगत लुकेको छ । मेरो बाबा र अंकलको चिन्तन र मूल्यमान्यताहरु झल्किन्थ्यो त्यहाँ । उतिबेलाको समाजका प्रतिक थिए ती पुस्तकहरु । के इतिहासको दृश्य केवल चित्र र भौतिक वस्तुको पहिचानबाट मात्रै आउने हो ?

हिजोसम्म मैले जति लेखे र बोले, ती सबैमा म आफ्नो स्मृतिबाट भाग्न खोज्थे । मलाई यो बुझ्न समयको लामो कालखण्ड पार गर्नपर्यो कि जब एक मानिसले आफ्नो स्मृति गुमाउछ, उसले सबै कुरा गुमाउछ । उसको आफ्नो व्यक्तित्व र चरित्र हराउछ । मेरो जीवनमा भोगेको एक अर्कोे ह्दयविदारक दुर्दशा यो पनि हो कि म मेरो स्मृतिबाट छुटकारा खोज्थे ।

अनुभव मार्फत बाचिरहेका आम मानिसले यस बारेमा पर्याप्त कुरा गर्न सक्दछन् भन्ने समेत हेक्का थिएन मलाई । मलाई ज्ञात थिएन कि मेरो बाबा र अंकल जस्तै कैयौं अज्ञात योद्धाहरुको रगतको रंगले रंगिएर सत्ता सञ्चालकहरु टल्किदा रहेछन् ।

कैयौ जीवनहरु ध्वस्त पारेर निर्माण गरेका साम्राज्य संचालकहरु बुझ्दछन् कि आम मानिसको स्मृतिले बडेबडे साम्राज्य झार्न सक्दछन् । आम मानिसको स्मृतिले प्रश्नहरु खडा गर्दछन् र मुर्दा शान्तिमा खलल पुगाउदछन् । मेरो मनमा पनि प्रश्न उब्जिरहन्छन् यदि भगवान हुन्थे भने हामी माथि यति साह्रो अन्याय किन भयो ? यदि प्रभु छन् भने, युद्धको क्रुरता कसरी सम्भव हुन्छ ? युद्धका सबै पक्षका नाइकेहरु कागजमा शान्ति सम्झौता गर्दै कसरी मिलिजुली खतरनाक साम्राज्य निर्माण गर्दछन् ? युद्ध अपराधीहरुको पहिचान गर्न राज्य किन मौनता प्रदर्शन गर्छ ? अनि तिनको बचाउ गर्न राजनीतिक सम्भ्रान्तहरु कसरी गैर वैधानिक तरिका लागू गर्छन् ? मेरो स्मृति गुमाइसकोको हुन्थे त यी प्रश्न कसरी खडा हुन्थे । यस्ता प्रश्नको निरन्तर प्रवाहले साम्राज्यहरु बर्बाद हुदा हुन् । त्यसकारण प्रायोजित रुपमै हाम्रा स्मृति मौन बनाइन्छन् । बस चल्ने भए त यिनले हाम्रा मौनतालाई पनि चुप लगाउदाँ हुन् ।

आखिरमा हाम्रो स्मृति बुन्ने त्यो साहस मैले गरे । मेरो आमा र हजुरआमाको अनुभुतिहरुको मौखिक वर्णनलाई म शब्दहरुको माध्यमबाट उल्लेखनिय रुपमा उपस्थिती जनाउन सक्दिन । मेरो शब्दहरुमा भन्दा उहाँहरुले बोलेको तथ्यले अझै वास्तविकता दर्शाउछ । मनभित्र दबाएर राखिएका स्मृति झन्डै हराइसकेका थिए । विगतलाई उपेक्षा गर्दा तत्काललाई दैनिक जीवनको सतहमा प्रभाव परेको नदेखिएला, तर यसले भविष्यलाई पर्याप्त मात्रामा असर पार्न सक्छ । यो कुरामा विश्वास नगर्नु अन्धविश्वास जतिको विषाक्त छ ।

अहिलेसम्म हामीलाई इतिहासको नाममा मिथ्या झुट अंगाल्न लगाइयो । इतिहास छनौट गरिएको हुन्छ भन्ने ज्ञान थिएन । तर हामी आम मानिसले बिर्सन हुदैन कि आम मानिसहरुको अनुपस्थितीमा संसारको कुनै इतिहासको निर्माण सम्भव छैन ।

आजसम्म म रनभुल्लमा परे÷पारियो । मलाई किन भनियो, विगतमा जे भयो बिर्सेर अगाडी बढ । किन मलाई भनिएन, स्मृति भविष्यवाणी हो । यसले भविष्यलाई हेर्ने लामो दुरी प्रदान गर्दछ । जति परसम्म भूतलाई हेर्नसक्यो, त्यतिनै टाढासम्म भविष्य हेर्न सकिन्छ । किन भनिएन मेरो अनुभुति, मेरो स्मृति, आम मानिसको अनुभुतिको गहन महत्व बोकेको गवाही हो । किन भनिएन, हामी जीवित इतिहासहरु हौ ।

हामी आम मानिसका अनुभुति कति नगण्य छ तर गम्भिर छ । यि गम्भिर ऐतिहासिकताको उपेक्षाले जनयुद्धको अनुभवको महत्वपूर्ण अंशलाई वेवास्ता गर्दछ । घटनाको वास्तविकता जान्ने जिज्ञासा प्रत्येकलाई हुन्छ तर धेरैजसो अवस्थामा घटनाको वास्तविकता पत्ता लगाउनु वा जान्न पाउनु हाम्रो पहुंचमा हुदैन । यति मात्र होइन, हाम्रा स्मृतिनै धरापमा छन् । विगतका दैनिक जीवन र त्यसबेला प्रयोग हुने साधारण तर महत्वपूर्ण प्रतिकहरु र त्यही पृष्ठभूमिमा हामी अडिएका छौ ।

विगतलाई बिर्सिदेउ भन्नेहरु भनिदिनुस् हामीले हाम्रो प्रियजनलाई सम्झिने सिमा कहाँसम्म हो ? यस्तो भन्नेहरु मलाई, अपराधी संरक्षण गर्ने राजनीतिक सम्भ्रान्तहरुका घोषित वा अघोषित एजेन्ट लाग्छन् ।


महान सपना बोकेर मोर्चामा खटिएका व्यक्तिहरु सामाजिक मान्यताको अभावबाट ग्रस्त छन् । एक मौन स्मृतिको दृढताले बारम्बार भन्छ, कहि कतै पक्कै लेखिनेछ इतिहास, त्यो इतिहास जब एक आम मानिसले भन्नेछ, त्यो इतिहास हाम्रो हो ।

थप सम्बन्धित समाचार
Follow
Us