ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्ता भएका व्यक्तिलाई सम्मान

-कैलारी अनलाइन

सोमवार, १० फाल्गुण 4:51 PM

हसुलिया, १० फागुन । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयले सोमबार ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्ता भएका व्यक्तिलाई सम्मान गरेको छ ।

चालू आर्थिक वर्षको लक्षित वर्गका कार्यक्रम अन्तर्गत वडा कार्यालयले उनीहरुलाई सम्मान गरेको हो । वडाभरि रहेका लक्षित वर्गका २६२ जनालाई सम्मान गरिएको वडा कार्यालयले जानकारी दिएको छ । वडा अध्यक्ष कैलाश चौधरीको अध्यक्षतामा सम्मान कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र विशिष्ट अतिथि रहेका उपाध्यक्ष लक्ष्मी सत्गौंवाले लक्षित वर्गलाई सम्मान गरेका थिए ।

सम्मान कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकलाई झोला र टर्च दिइएको छ । सम्मानित हुनेमा ९१ महिला र ७३ पुरुष गरी १६४ जना ज्येष्ठ नागरिक रहेका थिए । यसैगरी, २९ जना एकल महिला, ५३ जना विधुवालाई सम्मान गरिएको छ । यस्तै, महिलापुरुष आठ/आठ जना गरी १६ जना अपाङ्ता भएका व्यक्तिलाई सम्मान गरिएको छ ।

उनीहरुलाई झोलामात्रै दिइएको वडा अध्यक्ष चौधरीले जानकारी दिए । महिलालाई ‘लेडिज’ र पुरुषलाई ‘जेन्ट्स’ झोला दिइएको छ । लक्षित वर्गको कार्यक्रमका लागि वडा कार्यालयले चालू आर्थिक वर्षमा दुई लाख २० हजार रुपैयाँ बजेट छुट्टयाएको थियो ।

कार्यक्रममा नेकपा नेता बतासु चौधरी, वडाका कर्मचारी लगायत लक्षित वर्गको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

थप सम्बन्धित समाचार
Follow
Us