चीनमा खुल्न थाले विद्यालय, व्यक्तिगत दूरीका लागि टोपीमा लट्ठी

-कैलारी अनलाइन

बुधवार, १७ बैशाख 3:59 PM

काठमाण्डौं, १७ बैशाख । कोरोनाभाइरसको महामारीपछि चीनको सबैभन्दा ठूलो शहर सांघाईमा विद्यालय खोल्न थालिएको छ ।
राजधानी बेइजिङमा पनि विद्यार्थीलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि स्वीकृति दिइएको छ । अन्य धेरै सहरहरुमा यसअघि नै विद्यालय खुलिसकेका छन् । कोरोनाभाइरसको संक्रमण सुरु भएको मानिएको वुहानमा आगामी ६ मेदेखि हाइस्कुलहरु खोल्ने तयारी छ ।

सांघाईका विद्यालयमा अध्ययनरत मिडिल र हाइस्कुल तहका अन्तिम वर्षका विद्यार्थीलाई विद्यालय बोलाइएको हो । उनीहरुलाई अनिवार्य मास्क लगाउन र व्यक्तिगत दूरी कायम गर्न भनिएको छ । हाङझोउमा विद्यार्थीलाई दायाँ र बायाँ तेस्रो पारेर घुसारिएको लट्ठीसहितको टोपी लगाउन लगाइएको छ । जसकारण विद्यार्थीले व्यक्तिगत दूरी कायम राख्नुपर्ने कुरा नबिर्सिने त्यहाँका प्रधानाध्यापकले बताएका छन् ।

अधिकांश विद्यालयमा गेटमै विद्यार्थीको ज्वरो नापेर मात्र प्रवेश गराइएको छ । विद्यार्थीले आफू सुरक्षित रहेको देखाउन एपमा ‘ग्रिन कोड’ देखाउनुपर्ने नियम पनि बनाइएको छ । यस्तो कोड स्वास्थ्य संस्थाले उपलब्ध गराउँछन् ।

चीनले कोरोना भाइरसको संक्रमण धेरै हदसम्म नियन्त्रणमा आएको बताएको छ । चीनमा गत शुक्रबारदेखि जम्मा २६ जना संक्रमितमात्र थपिएका छन् । चीनमा अहिलेसम्म ८२ हजार ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वुहानका अस्पतालमा भएका सबै संक्रमित डिस्चार्ज भएपछि शून्य बिरामी भएको यसअघि नै बेइजिङले घोषणा गरिसकेको छ ।

थप सम्बन्धित समाचार
Follow
Us