गाउँपालिकालाई ग्रीन स्मार्ट बनाउने अभियान, रोपियो ५ हजार बोटविरुवा

-kailarionline

सोमवार, १३ साउन 5:33 PM

हसुलिया, १३ सावन । कैलालीको कैलारी गाउँपालिकाले कालोपत्रे सडक वरिपरि अनिवार्य रुपमा वृक्षारोपण गरिनु पर्ने नीति अनुरुप गाउँपालिकाभरि पाँच हजार पाँच सय वटा विरुवा वृक्षारोपण गरेको छ ।
ग्रीन स्मार्ट गाउँपालिका बनाउने उद्देश्यले गाउँपालिकाले कालोपत्रे गरिएका सडक वरिपरि वृक्षारोपण गरेको हो । केहि दिन अगाडिबाट गाउँपालिकामा सुरु गरिएको वृक्षारोपण अभियानको सोमवार गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवाले समापन गरिन् । वडा नम्बर ३ को भडरीमा वृक्षारोपण गरी अभियानको समापन गरिएको हो । समापन अवसरमा वडा नम्बर ३ का अध्यक्ष कैलाश चौधरीसहित स्थानीयले वृक्षारोपण गरेका थिए ।

 

उपाध्यक्ष सत्गौंवाले वृक्षारोपण गरि सुरु गरिएको वृक्षारोपण अभियानको वृक्षारोपण गरेर नै समापन गरेको जानकारी दिइन् । गाउँपालिकाको कार्यालयले कैलारीलाई ग्रीन स्मार्ट गाउँपालिका बनाउने नीति नै अबलम्बन गरेको छ । सोही लक्ष्य प्राप्तीका लागि नौ वटै वडामा वृक्षारोपण गरिएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जनाए ।

 

‘सडक कालोपत्रे गरिएको ठाउँमा अनिवार्य रुपमा वृक्षारोपण हुनु पर्ने नीति लिएका छौं’, उनले भने–‘ग्रीन स्मार्ट गाउँपालिका निर्माणका लागि यो अभियानको थालनी गरिएको हो ।’ उनले वृक्षारोपण कार्यलाई आगामी वर्ष पनि निरन्तरता दिने बताए । गाउँपालिकाको सडक वरिपरि गुलमोहर, अशोक, बबुर, निमको वृक्षारोपण गरिएको छ ।

 

अग्लो हुने प्रजातिको वृक्षारोपण गर्दा हावाहुरी आउँदा रुख ढलेर क्षति गर्ने भएकाले सडकमा हुँदा क्षति नगर्ने बोटविरुवाको वृक्षारोपण गरिएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । गाउँपालिकाले सञ्चालन गरेको वृक्षारोपण अभियान समापन भएपनि गाउँपालिकावासीले अझै पनि आ–आफ्नो क्षेत्रमा वृक्षारोपण गर्न सक्ने गाउँपालिकाका सूचना अधिकारी बलराम चौधरीले जानकारी दिए ।

 

उनले सडकसहित विभिन्न वडामा रहेको खाली ठाउँ र सामुदायिक वनको खाली क्षेत्रमा पनि वृक्षारोपण गरिएको जानकारी दिए । वृक्षारोपण कार्यका लागि नवजीवन सेवा संघले सहकार्य गरेको थियो ।
फोटोः उपाध्यक्ष लक्ष्मी सत्गौंवाको फेसबुक वालबाट

थप सम्बन्धित समाचार
Follow
Us