कैलारी गाउँपालिकाको समग्र विकासको लागि दीर्घकालिन योजना बनाएर काम गर्छु : अध्यक्ष चौधरी

-kailarionline

सोमवार, ७ जेठ 9:46 AM

कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी (अंकीत) गाउँको विकासमा स्थानीय सरकारमार्फत लागि पर्नुभएको छ । विगतमा गाउँको विकास र सत्तामा जनताको पहुँच बनाउन भन्दै १० वर्षे सशस्त्र युद्धको स्थानीयरुपमा नेतृत्व गर्नुभएका चौधरी अहिले गाउँपालिकाको अध्यक्षजस्तो जिम्मेवारीमा आएपछि गाउँको मुहार फेर्न के कस्तो योजनासहित काम गरिरहनुभएको छ ? पत्रकार लक्की चौधरीले गर्नुभएको कुराकानीको संक्षेप–

यो क्षेत्रको विकासको मुख्य चुनौति के पाउनुभएको छ ?
चुनौति र अवसरको बीचमा काम गरिरहेको छुँ । यसअघि लथालिङ्ग राजनीतिक अवस्था थियो । त्यो अहिले व्यवस्थापन भएको अवस्था  छ । त्यसले काम गर्नमा सहज वातावरण बनाउँछ भन्ने मलाई लागेको छ । यहाँको विकास, समृद्धि, जनताको आधारभूत आवश्यकता पूरा गर्न चुनौति छ र गर्नसके अवसर पनि प्रशस्त छ । दीर्घकालिन योजना बनाएर अघि बढ्ने तयारीमा छुँ ।

चुनावीताका तपाईको मुख्य नारा के थियो र त्यसको सम्बोधनको शुरुवात के भयो ?
यो ठाउँलाई स्मार्ट गाउँकोरुपमा विकास गर्ने र जनताको आधारभूत आवश्यकता पूरा गराउने प्रतिवद्धता गरेको थिएँ । निर्वाचित भएर भर्खर कामको शुरुवात गरेको अवस्था रहेकाले अहिले नै सबै कामको सम्बोधन गर्नुभन्दा पनि शुरुवात गरेको छुँ भन्दा हुन्छ । अहिले पर्याप्त बजेट छैन । आउने आ.व.को बजेटअनुसार अगाडि काम बढ्छ ।

गाउँघरको विकास निर्माणको काम गर्न स्थानीयको सहयोग कतिको पाउनुभयो ?
यहाँ पुरानो मान्छे र पुराना विचारधाराका मानिस धेरै छन् । पहिले चेतनास्तर बढाउनु छ । वैचारिक हिसावले स्पष्ट भएपछि विकास निर्माणको काममा समाहित गराउने वातावरण मिल्छ । तर विकास निर्माणको काममा जनताको संलग्नता र सहयोग एकदम राम्रो छ । सबै किसानले विकास र समृद्धि चाहेको छ । हाम्रो विकासे अभियानमा उहाँहरुको जनश्रमदान उत्साहप्रद छ ।

केन्द्रमुखी विकास स्थानीयस्तरमा पुगेको महशुस जनताले गर्न थालेका छन् ?
शुरुवात भएको छ । मेरो कार्यकालको दुई वर्षमै गाउँपालिकाको हरेक सडक र बाटोमा ग्राभेल गरेर सकाउने योजना छ । तेस्रो वर्षदेखि सडक पक्की बनाउने अभियान शुरु हुन्छ । नदी कटान, तटबन्ध निर्माण गर्ने र पुलपुलेसाको काम गर्ने योजना छ । यहाँको समग्र विकासकानिम्ति जनताको स्वास्थ्य, रोजगार, शिक्षाको पहुँच लगायतको काम गर्न बाँकी छ । यो गाउँपालिकाको सिमाना भारतीय सीमासँग जोडिएकाले केही कठिनाई छ । पारीका नागरिक वारी आएर समस्या पार्ने र वारीका मानिसहरु पारी गएर सरसामान किन्न जाँदा केही समस्या भोग्नुपर्ने चुनौति छ । त्यसको व्यवस्थापनको काम पनि गरिरहेका छौं ।

यो क्षेत्रको मुख्य चुनौति डुवान पनि हो । त्यसको व्यवस्थापनमा के गरिरहनुभएको छ ?
हो, यो क्षेत्र डुवानले ग्रसित छ । डुवान पूर्णरुपमा रोक्न न तत्काल सकिदैन । तर नदी नियन्त्रण र जनताको राहतकालागि योजना बनाएका छौं । चुरे क्षेत्रकै नियन्त्रणबाट यहाँको डुवान अन्त्य हुने हो । यहाँको डुवान क्षेत्रमा तटबन्ध निर्माण गर्ने, वर्खायाममा डुवानमा परेकाहरुलाई सुरक्षित आवास निर्माणको काम गर्ने काम शुरुगरेका छौं । कटानलाई हेरेर जैविक तटबन्धकालागि जनतासँग जनप्रतिनिधि नारा दिएर काम गरिरहेका छौं । सबै नदीमा यहाँ तटबन्धको काम शुर गरेका छौं । धेरै काम वर्खाअघि सम्पन्न हुन्छ । हौसलपुर, निमुवाबोझी, शिवरत्नपुर, मोहनपुर लगायतको ठाउँमा सुरक्षित आवासगृहको निर्माण पनि गरिरहेका छौं ।
डुवान प्राकृतिक समस्या हो । यसलाई पूर्णतः नियन्त्रण गर्न कठिनाई हुन्छ तर डुवान कम गर्नमा काम गरिरहेका छौं । ढल निकास, पानी निकास, व्यवस्थित र सुरक्षित वासोबासका लागि जनता आवास कार्यक्रम अघि बढाएका छौं ।

यो क्षेत्रमा जंगली जनावरले पनि जनतालाई दुःख दिएको सुनिन्छ, राहतको योजना के छ ?
हो । नजिकै वसन्ता कोरिडर छ । भारतीय जंगलबाट पनि खुलारुपमा जंगली हात्तीहरु ओहोर दोहोर गर्ने हुनाले व्यवस्थापनको समस्या त    छ । जंगली हात्तीको आवत–जावतकालागि सुरक्षित बाटो र व्यवस्थित वस्ती निर्माणकालागि सरकारले सोचिदिने हो भने समस्या समाधान हुन्छ । अहिले त हात्तीको आतङ्कभन्दा गाई आतङ्क मच्चिएको छ । छाडा गाई गोरुहरुले कृषकका धानबाली नष्ट गर्ने, बाली खाइदिने समस्याले सताइरहेको छ । त्यसको व्यवस्थापनका लागि पनि योजना बनाइरहेका छौं ।

खुला सिमानाले ‘सुरक्षा थ्रेट’ कस्तो छ यहाँ ?
खुला नाका र सिमानाले समस्या त पारेको छ । यो गाउँपालिकाको करिब १७ किलोमिटर खुला सिमाना भारतसँग जोडिएको छ । खुला सिमानामा जंगली बाटो छ । कुनबेला को कुन बाटो हिड्छ थाहा हुँदैन । भित्रभित्रै बाटो छ, कुन बाटो को हिड्छ थाहा हुँदैन । अहिलेको सिमाना नदीले छुटयाएको छ । तथापि नदीपारी पनि नेपालको तीन गाउँ छ । हौसलपुर, शिवरत्नपुर र मोहनपुर मोहना नदी पारी छ । सो गाउँको सुरक्षा, शिक्षा, स्वास्थ्यको व्यवस्थापन गर्न गाह्रो छ । सीमा पारीका सुरक्षाकर्मीसँग समन्वय गरेर काम गरिरहेका छौं ।

तपाईहरुले गरेको कामलाई बाहिर सार्वजनिक गर्ने तौरतरिका के अपनाउनु भएको छ ?
सार्वजनिक सुनुवाई गर्ने हो, त्यो यो वर्ष गर्न सकेनौं । आउने दिनमा गर्छौ र मिडियासँग भने नियमितरुपमा काम कारवाहीबारे जानकारी दिने गरेका छौं । मिडियाकर्मीले मागेको सूचना दिने गरेका छौं । भर्खरै सूचना प्रविधि केन्द्रको उद्घाटन गरेका छौं । यस गाउँपालिकाका सबै सार्वजनिक संस्थाको गतिविधिहरुबारे सूचना केन्द्रमार्फत जानकारी गराउँछौं । त्यो टेक्नो हवमार्फत सूचना पाउन सकिन्छ । त्यस्तै, हरेक वडामा सामुदायिक सूचना केन्द्र स्थापना गर्ने तयारीमा छौं । लगत्तै वडा नं ५ मा शुरु गर्न गइरहेका छौं । मोबाइल एप्स बनाएर पनि सूचना सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

जनयुद्ध लडेर आएको मान्छे तपाई अहिले गाउँपालिकाको अध्यक्ष हुनुभयो, उहिलेको र अहिलेको काम गराईमा के अन्तर पाउनुभयो ?
त्यतिबेला हामी वैचारिक परिवर्तनको अवस्थामा थियो । सामन्तवादी समाजलाई उन्नत समाज बनाउनेमा लागेका थियांै । व्यक्तिहरुलाई मनाउन त्यतिबेला निकै गाह्रो थियो । त्यतिबेला वैचारिक परिवर्तनकालागि अभियान चलायौं । अव विकास निर्माणको काम गर्ने ठाउँमा   छौं । अहिले मान्छेको चेतनास्तर बढेको छ । हाम्रो १० वर्षे जनयुद्धकोबेला हामीले दिएको प्रशिक्षण, तालिमले पनि अहिले काम गर्न सहज भएको छ । अहिले मानिसहरु आफ्नो अधिकार थाहा पाउने भएका छन् । सचेततापूर्वक काम गर्ने अवस्थामा हामी पुगेका छौं । त्यतिबेला परिवर्तनकानिम्ति एउटा भत्काएर अर्को निर्माण गर्ने वैचारिक लडाई लडेका थियौं । अहिले निर्माण गर्ने अवस्थामा आइपुगेका छौं ।

हमारपहुरा डटकमबाट

थप सम्बन्धित समाचार
Follow
Us