कैलारीको पृथ्वीपुरमा सामुदायिक सूचना प्रविधि केन्द्र उद्घाटन

-कैलारी अनलाइन

बिहिवार, २७ कार्तिक 6:56 PM

हसुलिया, २७ कार्तिक । कैलारी गाउँपालिका वडा नम्बर ८, पृथ्वीपुर वडा कार्यालयमा बिहीबार सामुदायिक सूचना प्रविधि केन्द्रको उद्घाटन गरिएको छ । कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले एक कार्यक्रमकाबीच केन्द्रको उद्घाटन गरेका हुन ।

क्यानडा सरकार, सेसी नेपालको सहकार्य र ग्राम विकास अनुसन्धान केन्द्र (आरडीआरसी) को आर्थिक सहयोगमा सो वडामा सामुदायिक सूचना प्रविधि केन्द्र स्थापना गरिएको हो । वडा अध्यक्ष दुखीराम कठरियाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सेसीका क्षेत्रीय कार्यक्रम संयोजक महेन्द्र शाही, आरडीआरसीका अध्यक्ष दीर्घराज उपाध्याय, जिल्ला संयोजक ठाकुर करिया प्रधान, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, स्थानीय भलमन्सा, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।

सामुदायिक सूचना प्रविधि केन्द्रको स्थापनाले स्थानीय सरकारका गतिविधिका बारेमा नागरिकलाई सूचना प्राप्त गर्न सहज हुने जनाइएको छ । यसैगरी, स्थानीय सरकारका सम्पूर्ण डाटाहरु डिजिटाइज्ड हुनुका साथै अपडेट हुने र स्थानीय सरकारलाई पारदर्शी बनाउन सहयोग पु¥याउने बताइएको छ । ‘अब स्थानीय सरकारका गतिविधिका बारेमा अनलाइन, अफलाइन र भौतिक रुपमा सूचना प्राप्त गर्न सकिनेछ’, आरडीआरसीका जिल्ला संयोजक करिया प्रधानले भने । ‘यस्तो सुविधाले नागरिक र स्थानीय सरकारबीचको दूरी कम भइ सम्बन्ध बढ्नेछ ।’

सामुदायिक सूचना प्रविधि केन्द्रको स्थापनाले दूरदराजमा रहेका महिला तथा सीमान्तकृत वर्गको सूचनामा पहुँच बढ्ने करिया प्रधानको भनाइ थियो । स्थानीय सरकारको गतिविधिलाई पारदर्शी र युग सुहाउँदो प्रविधिमैत्री बनाउनका लागि आरडीआरसीले धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा काम गर्दै आएको छ ।

थप सम्बन्धित समाचार
Follow
Us