आयोजक सुदुरपश्चिम–११, सुदुरपश्चिम खप्तड गोल्डकपको च्याम्पियन

-कैलारी अनलाइन

बुधवार, २१ फाल्गुण 10:11 AM

धनगढी, २१ फागुन । आयोजक लसुदुरपश्चिम–११ स्पोर्टस क्लब मोफसलकै सर्वाधिक धनराशीको नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करणको च्याम्पीयन बनेको छ ।
मंगलबार भएको फाईनलमा थ्रीस्टार क्लबलाई हराउँदै आयोजक टीम च्याम्पीयन बनेको हो । सुदुरपश्चिम–११ ले ए डिभिजन क्लब थ्रीस्टारलाई १–० ले हराउँदै पहिलो पटक उपाधि जितेको छ । तेस्रो संस्करणमा पनि नेपाल पुलिस क्लबसँग १–० ले पराजित हुँदै थ्रीस्टार अघिल्लो बर्ष पनि उपविजेता बनेको थियो ।
सुदुरपश्चिमलाई उपाधि दिलाउन विक्रम सिंह ठकुरीले निर्णायक गोल गरे । उनले खेलको २८ औं मिनेटमा निर्णायक गोल गरे । फ्रिकिक बलमा थ्री स्टारका डिफेन्डर अनन्त तामाङले हेडबाट अशोक खवासलाई दिएको ब्याकपासलाई नियन्त्रणमा लिदै बिक्रमले बललाई जाली चुमाए । प्रतियोगिताको यो उनको पाँचौं गोल समेत हो । त्यसअघि खेलको २० औं मिनेटमा बिक्रमकै प्रहार थ्री स्टारका कप्तान बिक्रम लामाले गोल लाइनबाट क्लियर गरेका थिए । ४३औं मिनेटमा सुशिल राईको हेडरलाई सुदूरपश्चिमा गोलरक्षक सुजित विसीले बचाउदा थ्री स्टार बराबरीबाट चुक्यो । ६१ औं मिनेटमा अनन्त तामाङको प्रहारलाई सुदूरपश्चिमका गोलरक्षक सुजित विसीले मुस्किलले बचाए । ८० औं मिनेटमा मिक्छेन तामाङको प्रहारलाई सब्सिच्युट गोलरक्षक प्रितम खड्काले पञ्च गर्दै सम्भावित बराबरी टारे । इन्ज्युरी समयमा विक्रम सिंह ठकुरीले काउन्टर एट्याकमा वान भर्सेस वानमा गोल गर्न चुके । उनको प्रहारलाई थ्री स्टारका गोलरक्षक पुर्ण चेम्जोङले ब्लक गरे । त्यसपछि थप गोल निस्कन नसक्दा थ्री स्टार पराजित हुन पुग्यो । खेलको म्यान अफ दि म्याच सुदुरपश्चिमका माधव भण्डारी चुनिए । उनले नगद १० हजार सहित ट्रफी र मेडल प्राप्त गरे । सुदुरपश्चिमले पहिलो पटक घरेलु प्रतियोगिताको उपाधि जितेको हो । सुदुरपश्चिम– ११ खप्तड गोल्डकपको नयाँ च्याम्पियन समेत बनेको छ । उपाधिसँगै सुदुरपश्चिमले २१ लाख १ रुपैया प्राप्त गरेको छ । थ्री स्टारले १० लाख १ रुपैयामा चित्त बुझाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदुरपश्चिम–११ का विक्रम सिंह ठकुरी भए । उनले वेनाली मोटरसाईकल प्राप्त गरे । गोल्डकपका उत्कृष्ट विधाहरुमा पनि आयोजक टीमकै वर्चश्व रह्यो । उदयमान खेलाडी विष्णु चौधरी, उत्कृष्ट रक्षक धनराज थापा, उत्कृष्ट प्रशिक्षक रोहित भण्डारी र सर्वाधिक गोलकर्ता विक्रम सिंह ठकुरी भए । थ्रीस्टारका पुर्ण चेम्जोङग उत्कृष्ट गोलरक्षक र सुशील राई उत्कृष्ट मिडफिल्डर भए । सबै विधाका उत्कृष्ट खेलाडीहरुले नगद १५ हजार सहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।
विजयी खेलाडीहरुलाई एक कार्यक्रमबाट बिच पुरस्कार वितरण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार शिलवाल लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभयो । समापन समारोह आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सुदूरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिता फागुन ०९ गतेदेखि फागुन २० गतेसम्म धनगढी रंगशालामा सम्पन्न भएको थियो । प्रतियोगितामा दुई विदेशी सहित १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता अवधिभर टिकट काट्ने दर्शकहरुमध्येबाट ११ दिनसम्म गोलाप्रथाद्धारा एक जनाले १३ हजार पाँच सय मुल्य पर्ने रियलमी मोवाईल पाएका छन् । एक÷एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होलवडी चेकजाँचको सुविधा समेत पाएका छन् । वराही नेटले गोल्डकपको टिकटको अर्धकट्टी देखाएमा एक बर्षमा तीन महिना निशुल्क ईन्टरनेटको समेत सुविधा रहेको छ ।
नेपाल आईस मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ । प्रतियोगिताको प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ । यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ अफिसियल वैंकमा सनराईज वैंक हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट र टिकट पाटर्नरमा स्टेपिङ स्टाने स्कुल रहेको छ । सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारा सहित सुदुरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ ।

यस्तो छ सुदुरपश्चिम खप्तड गोल्डकपको ईतिहास

पहिलो संस्करण २०७३
भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकप २०७३ मा ए डिभिजन क्लव मनाङ मस्याङ्दी च्याम्पीयन बनेको थियो । धनगढी रंगशालामा मनाङले काठमाण्डौको अर्को क्लव संकटालाई १–० ले किनारा लगाएर नगद ५ लाख सहित ट्रफी र प्रमाण हात पारेको थियो । उपविजेता बनेको संकटाले दुई लाख ५० हजार सहित सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको गरेको थियो ।
२०७३ सालको गोल्डकपको उत्कृष्ट खेलाडी मनाङका कप्तान अनिल गुरुङ भएका थिए । उत्कृष्ट खेलाडी बनेका उनले यमाहा मोटरसाईकल हात पारेका थिए । पहिलो संस्करणको गोल्डकपमा संकटाका गोरक्षक राजु नगरकोटी उत्कृष्ट गोरक्षक, मनाङका विराज महर्जन उत्कृष्ट रक्षक, डुक स्टार भुटानका केन्चो तावगे उत्कृष्ट स्ट्राईकर, सुदुरपश्चिम–११ का नरेन्द्र चौधरी उदयमान खेलाडी, मनाङका प्रशिक्षक छिरिङ लोप्चन गुरुङ उत्कृष्ट प्रशिक्षक र सुदुरपश्चिम–११ का मणीराम चौधरी सर्वाधिक गोलकर्ता भएका थिए ।

दोस्रो संस्करण
धनगढीमा भएको नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप २०७४ को उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको थियो । फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पाखा लगाउँदै आर्मीले उपाधिमाथि कब्जा जमाएको थियो । आर्मीले एपीएफलाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजित गरेको थियो । उपाधिसंगै आर्मीले नगद ११ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको गरेको थियो भने एपिएफले ५ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको गरेको थियो ।
२०७४ सालको प्रतियिोगितामा आर्मीका कप्तान भरत खवासले उत्कृष्ट खेलाडी हुँदै यमाहा मोटरसाइकल पाएका थिए । यस्तै उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर एपीएफका टोप विष्ट, उत्कृष्ट फरवार्ड आर्मीका सन्तोष तामाङ र राईजिङ प्लेयर सुदुरपश्चिम–११ का गोलकिपर अमानत शेख भएका थिए । सर्वाधिक गोलकर्ता एपिएफका अन्जन विष्ट भएका थिए ।

तेस्रो संस्करण
नेपाल पुलिस क्लबले तेस्रो नेपाल आईस अन्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७५ को उपाधि जितेको थियो । फाइनल खेलमा पुलिसले थ्रीस्टार क्लबलाई १–० गोलले पराजित गर्दै पुलिसले २१ लाख नगद सहित ट्रफी पाएको थियो भने थ्रीस्टारले १० लाख सहित ट्रफी पाएको थियो ।
२०७५ सालको गोल्डकपमा पुलिसका रवि पासवान प्रतियोगिताको सर्वोत्कृष्ट भएका थिए । उनल यामाहा मोटरसाईकल प्राप्त गरेका थिए । उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, डिफेन्डरमा पुलिसकै अजित भण्डारी तथा उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघन चौधरी, उत्कृष्ट मिडफिल्डर थ्री स्टारक विक्रम लामा र उदीयमान खेलाडी सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका भरत टमाटा भएका थिए । । पुलिसका तीर्थ रानाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाएका थिए ।

थप सम्बन्धित समाचार
Follow
Us