अध्यक्ष कप खेलकुद प्रतियोगिता जारी, पुरुष तर्फ वडा नम्बर १, र महिला तर्फ वडा नम्बर ५ र ९ विजयी

-कैलारी अनलाइन

शुक्रवार, ३० माघ 6:40 PM


हसुलिया, ३० माघ । कैलालीको कैलारी गाउँपालिका–३ स्थित उत्तर भडरीमा भइरहेको तेस्रो अध्यक्ष कप रनिङ्ग खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार ३ गेम सम्पन्न भएको छ ।
पहिलो खेल पुरुष तर्फ वडा नम्बर १ र वडा नम्बर ७ बिच भएको थियो । जसमा वडा नम्बर १ को टीम विजयी भएको छ । निर्धारित समयमा १/१ गोल भई बराबरीमा पुगेका टीम पेनाल्टीमा वडा नम्बर १ ले ३–४ ले विजयी भएको हो । वडा नं १ को तर्फबाट शेरबहादुर चौधरी, राहुल चौधरी, शंकर चौधरी, सुरज चौधरीले गोल गरेका थिए भने वडा नम्बर ७ को तर्फबाट अजय चौधरी, मंगल चौधरी र रामजनम चौधरीले एकएक गोल गरेका थिए ।
त्यस्तै महिला तर्फ भएको फुटबल प्रतियोगितामा कैलारी गाउँपालिकाको टीमलाई वडा नम्बर ५ को टीमले वाकओभर मार्दै विजयी भएको छ । महिला तर्फ अर्को खेलमा वडा नम्बर ९ ले वडा नम्बर ६ लाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
वडा नम्बर ९ को टीमबाट करुणा चौधरी र दिपा चौधरीले गोल गरेका थिए भने वडा नम्बर ६ को तर्फबाट रञ्जिता चौधरीले गोल गरेकी थिइन् ।
फुटलबल प्रतियोगितामा नौ वटै वडा र कैलारी गाउँपालिकाको कार्यालयको गरी पुरुष/महिलाको १०/१० वटा टीमको सहभागिता रहेको प्रतियोगिताका मिडिया संयोजक मिसन चौधरीले जानकारी दिए । कैलारी गाउँपालिका कार्यालयको सहयोगमा कैलारी स्मार्ट समन्वय युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।

थप सम्बन्धित समाचार
Follow
Us